स्वास्थ्य बिमामा देखिएका समस्या नीतिगत निर्णय गरेर समाधान गर्छौँ - डा. काफ्ले [भिडियो]
स्वास्थ्य बिमाको प्याकेज पुनरावलोकन गछौं
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १ शुक्रबार
756
Shares
काठमाडौँ । स्वास्थ्य बिमा बोर्डका नवनियुक्त कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बोर्डमा वित्तीय दिगोपना स्थापित गर्न आफूले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । शुक्रबार स्वास्थ्य बिमा बोर्डको कार्यालयमा पदभार ग्रहण गर्दै उनले बोर्डले प्रवाह गर्ने स्वास्थ्य सेवा सरल, सुलभ र गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले बोर्डले दिने सेवा प्रभावकारी बनाउन सुशासनको महत्त्वपूर्ण भूमिका रहने भएकाले सुशासन कायम गर्न लागि पर्ने बताए । उनले आफ्नो कार्यकालमा सर्वव्यापी स्वास्थ्य सहभागिता सुनिश्चित गर्ने दाबी गरे ।
उनले भने, ‘मैले चार वर्षको अवधिमा चार प्लस एक पाँच काम गरेर बाहिरिने छु । एउटा युनिभर्सल हेल्थ कभरेज सर्वव्यापी स्वास्थ्य सहभागिता सुनिश्चित गर्नेछु । दोस्रो वित्तीय दिगोपना स्वास्थ्य बिमा बोर्डमा वित्तीय दिगोपना स्थापित गर्ने कुरामा मेरो महत्त्वपूर्ण भूमिका रहने छ । तेस्रो विषय बोर्डले प्रवाह गर्ने अर्थात् बोर्डले सेवा प्रदायक संस्थाहरुमार्फत् प्रवाह गर्ने स्वास्थ्य सेवा सरल, सुलभ र गुणस्तरीय हुने छन् । त्यसमा अहिले दिइ राखेको सेवामा थप गुणस्तरीयता र सहजता प्रदान गरिने छ । चौथो विषय बोर्डको संस्थागत क्षमता सुदृढ बनाउने कुरा रहने छ । यी चार वटा विषय मेरा चार वर्षका प्रतिबद्धता हुन् । र यसमा अर्को एउटा महत्त्वपूर्ण विषय चार वटै विषयमा जोडिने मैले चार प्लस एक भनेर सुशासनलाई भनेको छु । सुशासनको पाटो मैले व्यक्त गरेको प्रतिबद्धता पूरा गर्नका लागि सबै ठाउँमा उत्तिकै महत्त्वपूर्ण हुने हुँदा त्यसलाई सबै पक्षमा लैजाने मेरो चार प्लस एकको प्रतिबद्धता चार वर्षमा पुरा गर्ने भनेर मैले भनेको छु ।’
कार्यकारी निर्देशक डा. काफ्लेले सात सय ५३ वटै पालिकाबाट विस्तारित स्वास्थ्य बिमाबाट लाखौँ सर्वसाधारण लाभान्वित भएको बताए । सेवा प्रवाहमा देखिएका समस्याहरू बोर्डले नीतिगत निर्णय गरेर समाधान गर्ने उनको भनाइ छ । उनले सेवा प्रवाहका लागि देखिएका आर्थिक समस्याहरू सरकारसँग सहकार्य गरेर समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, ‘लाखौँ नागरिक यसबाट लाभान्वित छन् । चार सय ८५ सेवा प्रदायकहरूले सेवा प्रवाह गरेका छन् र सात सय ५३ पालिकामा यो सेवा बिस्तार गरिएको स्थिति छ । ती सकारात्मक उपलब्धिहरूको बीचमा केही अप्ठ्याराहरू पनि छन् । त्यो अप्ठ्यारा सम्बोधन गर्नका लागि थुप्रै उपायहरू हामी प्रस्तुत गर्ने छौँ । बिमा बोर्डको नेतृत्वसँग बसेर नीतिगत निर्णयहरू गर्नेछौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सहकार्य गर्नेछौँ, नेपाल सरकारसँग सहकार्य गर्नेछौँ । र आर्थिक अप्ठ्याराहरू त्यो कुरालाई सम्बोधन गर्नका लागि भनेरै मैले प्रस्तुत गरेको प्रतिविद्धतामध्ये दिगोपन भनेको छु त्यसैमा जोडिएको छ । यसलाई रातारात समाधान गरिन्छ भन्दा पनि निश्चित समयभित्र यो समस्याको सम्बोधन हुन्छ ।’
कार्यकारी निर्देशक डा. काफ्लेले अहिले भइरहेको स्वास्थ्य सेवाको प्याकेजमा पुनरावलोकन गर्ने बताए । सेवा प्रदायकलाई आश्वस्त पारेर स्वास्थ्य बिमालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न संस्थागत रूपमा अगाडि बढाउने उनको भनाइ छ ।