नेपाल एयरलाइन्सलाई सुचारु गर्न लिजमा जहाज थप्ने तयारी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ११ सोमबार
802
Shares
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल एयरलाइन्सलाई सुचारु गर्न लिजमा जहाज थप्ने तयारी भइरहेको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले नागरिक उड्डयनको क्षेत्रमा कुनै पनि बेला नतिजा आउने गरी तदारुकताका साथ काम गरिरहेको दाबी गरे ।
उनले उड्डयनको क्षेत्रलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न जहाज थप्नुको विकल्प नरहेको बताए। धेरै वटा देशहरूबाट सिधा उडानको प्रस्ताव आएको उल्लेख गर्दै मन्त्री पाण्डेले १० वटा वाइडबडी र १० वटा न्यारोबडी थप्नुपर्ने बताए। उनले सबैतिरबाट ध्वजावाहक जहाज नै चढ्न खोज्दा समस्या भएको बताए।
उनले भने, ‘नागरिक उड्डयनको क्षेत्रमा नेपाल एयरलाइन्सलाई सुचारु बनाउने सन्दर्भमा हामी गहन छलफलमा छौं । कुनै पनि बेला नतिजा आउने गरी हामी छलफलको तदारुकतामा छौं । अब प्लेन नथपिकन कुनै उपाय नै छैन । १० वटा वाइडबडी र १० वटा न्यारोबडी भइदिए मात्र सञ्चालन गर्न सजिलो हुन्छ । सबैतिरबाट सिधा उडानको लागि प्रस्ताव आएका छन् । जुनसुकै देशले पनि ध्वजा वाहक नै चढ्न खोज्ने रहेछन् । नेपालीले त खोज्ने नै भयो अरूले पनि सम्बन्धित देशमा जाँदा त्यो देशको ध्वजावाहक भयो भने ढुक्क अनुमति गर्दो रहेछ ।’
उनले लिजमा जहाज लिएर उडाउने प्रक्रिया अन्तिम चरणमा रहेको समेत बताए। उड्डयनको क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्ने गरी सरकार हवाई नीति ल्याउने तर्खरमा रहेको समेत बताए। विदेशी तथा स्वदेशी एयरलाइन्सहरुबीच टिकटमा देखिएको असमानता हटाउनको लागि समेत आवश्यक अध्ययन उनको भनाइ छ ।