राजावादीको प्रदर्शनलाई प्रचण्डले भने - मण्डलेहरूको अराजकताको पराकाष्ठा [भिडियो]
एक दुई जना मरुन् र देशभर आतङ्क फैलियोस् भन्ने चाहेका छन् त्यो राजावादीहरूको चरित्र हो
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १५ शुक्रबार
839
Shares
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादी समूहले तीनकुनेमा गरेको सभालाई अराजकताहरूको संज्ञा दिएका छन् । समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा शुक्रबार काठमाडौंमा गरेको आमसभालाई सम्बोधन गर्दै प्रचण्डले तीनकुने प्रतिगामी र निरङ्कुशतावादीहरुको प्रतिकजस्तो बनेको टिप्पणी गरे ।
उनले घरमा आगो र प्रहरमाथि समेत ढुङ्गा प्रहार गरेकोप्रति आपत्ति जनाउँदै एक/दुई मान्छे मारेर देशभर आतङ्क फैलाउन चाहेको आरोप लगाए । उनले आतङ्क फैलाउनु राजावादीहरूको चरित्र भएको तर्क गरे । इतिहासलाई पछाडि फर्काउने दुःसाहस नगर्न उनको चुनौती छ ।
उनले भने, ‘कुकुरको पुच्छर १२ वर्ष ढुङ्ग्रोमा राखे पनि बाङ्गाको बाङ्गै भनेजस्तै अहिले त्यहाँको सभा मण्डले अराजकताको पराकाष्ठा भएको छ । तीनकुने अहिले मण्डले अराजकताको । सबै प्रतिगामी, निरङ्कुशतावादीहरुको एउटा प्रतीक जस्तो बनेर देखिएको छ । त्यहाँ घरमा आगो लगाएका छन् मण्डलेहरूले, त्यहाँ पुलिसमाथि ढुङ्गा प्रहार गरेका मण्डलेहरूले । एक दुई जना मरुन् र देशभर आतङ्क फैलियोस् भन्ने चाहेका छन् त्यो राजावादीहरूको चरित्र हो । हामी लाखको वरिपरि जम्मा छौं । त्यसकारण आजै तुलना गर्नुस् गणतन्त्रवादीहरूको चरित्र र राजावादी मण्डलेहरूको चरित्र आजै चैत्र १५ गते सम्पूर्ण नेपाली जनताले देख्ने गरी र बुझ्ने गरी काठमाडौंमा प्रदर्शित भयो ।’