वंशको शासन फर्काउन कुचेष्टा गर्नेले ठूलो मूल्य चुकाउनुपर्छ - माधव नेपाल [भिडियो]
अब नेपाली जनताले कसैको दासता स्वीकार नगर्ने
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १५ शुक्रबार
1k
Shares
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा वंशको शासन फर्काउन खोज्नेहरूले ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा समाजवादी मोर्चाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले फेरि राजतन्त्र स्वीकार नगर्ने बताए । २४० वर्षको शाह वंशको शासन र १०४ वर्षको राणा शासनले नेपाली जनतालाई दास बनाएको भन्दै उनले अब नेपाली जनताले कसैको दासता स्वीकार नगर्ने बताए । उनले शाह वंशले देशलाई बरबाद बनाएको बताए । उनले राजतन्त्रले देशको हितमा कहिल्यै काम नगरेको जिकिर गरे । उनले देश इतिहासको पछाडि फर्किन नसक्ने दाबी गरे ।
उनले भने, ‘अब यो मुलुक शाही वंशतर्फ फर्किन सक्दैन, राणातन्त्रतर्फ फर्किन सक्दैन । अब यो मुलुक वंश र परिवारको शासनमा फर्किन सक्दैन । अहिले संसारमा जनताहरू सार्वभौमसत्ता सम्पन्न भएका छन् कसैको पनि दासता स्वीकार गर्न तयार छैनन् । नेपाली जनता पनि कसैको दास बन्न चाहँदैनन् । हामी हेरौँ २४० वर्षको शाह वंशको इतिहास, हामी हेरौँ १०४ वर्षको राणाकालीन शासनको इतिहास । देशलाई कति लुटे उनीहरूले ? देशलाई कति चुसे उनीहरूले देशलाई कसरी बरबाद पारे उनीहरूले । उनीहरूको एक एक घटनाक्रमलाई हामीले सम्झियौँ भने छर्लङ हुन सक्छौ कि राजतन्त्रले देशको भलो गरेको छैन । त्यसकारण राजतन्त्रमै फर्किने कल्पनै नगरे हुन्छ । अब यो मुलुक इतिहासको पछाडि फर्किन सक्दैन । हामी जान दिँदैनौँ । हामी चुनौती दिन चाहन्छौँ यो देशमा फेरि ती वंशको शासन ल्याउन खोज्ने कसैले कुचेष्टा गर्छ भने उनीहरूले ठुलो मूल्य चुकाउनुपर्ने हुन्छ ।’
अध्यक्ष नेपालले जनताको समस्याबाट आफूहरू चिन्तित भएको बताए । उनले पुँजीवादी व्यवस्था र सत्ता सञ्चालन गर्नेहरूको नालायकीपनका कारण जनताले दुःख पाएको बताए । उनले नेपाली जनताका समस्या समाधानका लागि समाजवादी व्यवस्था आवश्यक भएको बताए । उनले नेपाली विशेषतासहितको समाजवादी प्रणालीको खाका आफूहरूसँग भएको दाबी गरे । उनले सत्ता सञ्चालन गर्नेहरू यथास्थितिमा रुमल्लिएको आरोप लगाए ।