शिक्षकहरूको सडक आन्दोलन जारी, सडकमै धर्ना, सडकमै नाचगान [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २९ शुक्रबार
1k
Shares
काठमाडौँ । शिक्षकहरुको आन्दोलन १० दिनदेखि जारी रहेको छ । गत चैत २० गतेदेखि राजधानी केन्द्रित आन्दोलन थालेका शिक्षकहरुले निरन्तर दैनिक काठमाडौँको माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक ठप्प पारेर धर्ना कार्यक्रम गर्दै आएका छन् ।
उनीहरुको आन्दोलनमा हरेक दिनजसो रमाइलो हुने गर्दछ । उनीहरु सडकमै खान्छन् । सडकमै नाचगान गर्छन् । अनि अन्त्यमा सरसफाइसमेत गरेर फर्कन्छन् । उनीहरुको दैनिकी यसरी नै चलिरहेको छ ।
यसबीचमा सरकारसँग विभिन्न चरणमा छलफल भए पनि माग पूरा हुन सकेको छैन । उनीहरुले माग पूरा नभएसम्म नफर्कने प्रण गरेको जनाएका छन् ।
शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरु आन्दोलित भएका हुन् । आन्दोलनका क्रममा उनीहरु आफ्ना नानीबाबुलाई पनि साथमै लिएर आएका पाइएको छ ।
सरकारले शिक्षकलाई २१ गते नै वार्तामा बोलाए पनि सोचेअनुसारको सफलता हात नलागेपछि शिक्षकले आन्दोलनलाई जारी राखेका हुन् । त्यसपछि पनि वार्ता त भयो तर सफलता हात परेन ।
नेपाल शिक्षक महासंघको आयोजनामा काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलन भइरहेको हो । गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले चैत २० गतेदेखि ‘काठमाडौँ जाऔँ अभियान’ सहित अनिश्चितकालीन शैक्षिक सडक आन्दोलन थालेको हो ।
एसईईको परीक्षाअघि नै आन्दोलन थालेका शिक्षकहरुले एसईई सकिएपछि सरकारलाई सडकबाट पढाउन थालेका हुन् । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथासिघ्र ऐन जारी गर्न मागसहित आन्दोलन जारी राख्ने बताएका छन् ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई बाध्य पार्न आन्दोलन गरिएको अध्यक्ष सुवेदीको भनाइ छ ।
आन्दोलनमा देशभरका अधिकांश शिक्षक कर्मचारी सहभागी भइरहेको उनको दाबी रहेको छ । काठमाडौँ आएका शिक्षक कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौँबाट नफर्किने उनले चेतावनी दिए ।
उक्त सडक आन्दोलनका कारण माइतीघरदेखि नयाँ बानेश्वरसम्मको जुलुसले वरिपरिको ट्राफिक व्यवस्था अस्तव्यस्त बन्दै आएको छ ।