arrow

मिटर ब्याजको अवैध धन्दामा फसे सर्वसाधारणदेखि सहकारी, अधिकांश महिला

logo
युवराज रेग्मी, 
प्रकाशित २०८२ वैशाख १० बुधबार
metre-byaji-2080-01-06.jpg
तस्बिर – फाइल ।

गौरादह । छोटो समयमा धेरै कमाउने उद्धेश्यले गरिने रुपैयाँ पैसा लेनदेन कारोबारमा  कमजोर आर्थिक  अवस्थाका सर्वसाधारणदेखि समाजमा कहलिएका प्रतिष्ठित सहकारीहरुको लगानी  ‘मिटर ब्याज’को अवैधधन्दाको जोखिममा  फसेको एउटा गहिरो तथ्य झापाको गौरादह नगरपालिका वडा न. ५ स्थित एक सुनचाँदी  ब्यबसायीको कारोबारबाट हाल बाहिर आएको छ ।

 छोटो समयमा धेरै कमाउने प्रलोभनले मिटर ब्याजमा लगानी गर्ने धन्दा मौलाउँदा  समाजमा सामाजिक र आर्थिक अपराधको जोखिम बढाउने कार्य  बड्दै गएको अवस्था नयाँ भने होइन  ।

 सर्वसाधारण, सहकारी एवं बैक तथा बित्तीय संस्थाबाट सरल दरमा कर्जा लिएर घरजग्गा कारोबार तथा  गैरकानूनी मानिएको मिटर ब्याजमा गरिएको ठूलो लगानी अशु लहुन नसकेपश्चात्  लगानीकर्ताहरु भागाभाग हुँदै गर्दा यसअघि झापाको  गौरादह  नगरपालिका वडा नं १ का सुनचाँदी  ब्यबसायी सोमराज सिलवाल हाल जिल्ला कारागार झापामा कैद भुक्तानी गरिरहेका छन्  । 

 सिलवालले  सर्वसाधारणको करिब ३५ करोड जति रकम हिनामिना गरी फरार रहेको अवस्थाबारे  हाम्राकुरालगायत विभिन्न राष्ट्रिय मिडियाले निरन्तर फलोअप गर्दा भारतमा गइ लुकिरहेका सिलवाल प्रहरी समक्ष आत्मसमर्पण गर्न बाध्य भएका थिए ।

 गौरादहको हकमा सिलवाल एक प्रतिनिधि पात्र हुन् । उनी बाहेक अन्य सुनचाँदी ब्यबसायीहरु पनि सर्वसाधारणको रकम  हिनामिना गरेर बेपत्ता नभएका भने होइनन् । यस्तो अवैध कारोबारका कारण विभिन्न स्थानमा  केहीको घर र जग्गा नै सखाप भएको अवस्था पनि देखिएको छ । 

मासिक चर्को ब्याज तिर्ने सर्तमा लिएको रकमबाट लगानी गरिएको रकम उठ्न नसकेपछि कतिपय घरबार छोडेर सम्पर्कविहीन भएका पनि छन् । 

प्रारम्भिक जानकारी अनुसार करिब ४ करोड रकमसम्म डुबाएर कारोबार बिचल्ली पारेको अवस्थामा झापाको गौरादह नगरपालिका वडा नं ५ स्थित स्कुलचौन बजारमा रहेको श्री कृष्ण ज्वेलरीका सञ्चालक डिकबहादुर कार्कीले  सर्वसाधारणको  रकम बिचल्ली पारेको भन्दै  पीडितहरुले निजका छोरा कृष्ण  कार्कीलाई बैशाख ९ गते मंगलबार वडा कार्यालयमा उपस्थित गराएर आफ्नो रकम यथासक्य चाँडो फिर्ता गर्न  दबाब दिएका छ्न् ।

 आफूहरुले पटक पटक आफ्नो रकम फिर्ता माग्दा हाल उक्त ज्वेलरीका सञ्चालक कृष्ण कार्कीले आनाकानी गर्दै आएकोले उनीहरुले बाध्य भएर वडा कार्यालयमा निजलाई उपस्थित गराइ आफ्नो रकम फिर्ता गर्न  दबाब दिएको  वडा सदस्य कपिलामुनि काफ्लेले बताए ।

 वडा कार्यालयमा उपस्थित भएका निज कार्कीले आफूले लिएको अधिकांश रकम ब्यापारमा र घरजग्गा कारोबारमा लगानी  गरेको र पछिल्ला वर्षहरुमा देशमा ब्याप्त आर्थिक मन्दीका कारण आफ्नो व्यवसायमा पनि  मन्दीको प्रत्यक्ष असर परेकोले भाका गरेअनुरुप आफूले जम्माकर्ताहरुलाई कबुल  गरे अनुसारको साँवा र ब्याज रकम भुक्तान गर्न नसकेको बताए । 
 
आश्चर्य कुरा त यो छ कि कृष्ण ज्वेलरीले सर्वसाधारणबाट रु ६ हजार  साथै  गौरादहका विभिन्न  बैंकहरुबाट रु  ४० लाखदेखि एक प्रतिष्ठित सहकारी बाट रु ६१ लाख रुपैयाँसम्म कर्जा लिएको पाइएको छ ।

 यसरी मिटर ब्याजको अवैध धन्दा मौलाउनमा बैंक तथा बित्तीय संस्थाले पनि जोखिमयुक्त क्षेत्र पहिचान नगरी अन्धाधुन्ध कर्जा लगानी गरिनु गम्भीर  र पेचिलो विषय बनेको  छ  ।

स्मरण रहोस् महारानी झोडाका  विभिन्न जग्गाहरु जग्गा  धनीपुर्जा तथा नक्सा नभएका कारण बैंकहरुले वैधानिक रुपले कर्जा पर्वाह गर्न नमिल्ने अवस्थामा रहँदा उक्त ज्वेलरीका सञ्चालक कार्कीलाई बैंक र सहकारीहरुले कसरी करोडौँ  रकम  कर्जा लगानी गरे ? यो विषय खोजको विषय बनेको छ । 

नेपाल राष्ट्र बैंकले यस्ता अवैध किसिमले वित्तीय संस्थाहरुले  लगानी गर्ने  रकम  निगरानी नगरिए  बैंक तथा वित्तीय संस्थाहरु थप जोखिममा फस्ने र सहकारी सञ्चालकहरु फरार हुने श्रृंखला दिनानुदिन बढ्ने निश्चित प्रायः छ ।

यस्ता कारोबारमा आफू स्वयं ठगिएको र दिनानुदिन वडा कार्यालयमा गुनासो लिएर आउने गरेको सोही वडाका वडा सदस्य एवं सुनचाँदी ब्यवसायी कार्की पीडित  कपिलामुनी काफ्लेले  हाम्राकुरालाइ जानकारी दिए । 

पछिल्लो समय उक्त कारोबारमा ठगिनेहरु कार्कीको ब्यवसाय रहेको घर तथा  जनप्रतिनिधि र प्रहरी समक्ष धाउनेक्रम बढेको पीडित मध्येका एक स्थानीय काजीबहादुर  राउतले बताए । 

यस्तो मिटर ब्याजको कारोबारमा  विशेषगरी  तीन वटा पक्षहरुको संलग्नता रहेको देखिएको छ। पहिलो समूहले बढी ब्याजको प्रलोभनमा  आफूसँग भएको रुपैयाँ पैसा दोस्रो समूह मध्यस्थकर्ताको काम गर्ने (सुनचाँदी ब्यवसायी ) लाई दिन्छन्  ।   

दोस्रो पक्षले पहिलो पक्षबाट लिएको भन्दा बढी ब्याजदरमा तेस्रो पक्षलाई ऋण दिन्छन् ।  मध्यस्थकर्ताको भूमिका खेल्ने व्यक्ति सीमित छन् जुन हाल सुनचाँदी ब्यवसायीहरुले उक्त कार्य गर्दै आएको पाइन्छ । 

जुन कार्य गर्न सुनचाँदी ब्यवसायीलाई कुनै अधिकार वा वैधता छैन । त्यसैले सुनचाँदी ब्यवबसायीहरुले गर्ने उक्त  रुपैयाँ पैसा सम्बन्धी वित्तीय कार्य कानूनी रुपमा  नै अवैध हो । 

मासिक दुईदेखि पाँच प्रतिशत सम्म ब्याजदरमा सापटीका रुपमा पहिलो पक्षबाट ऋण लिने मध्यस्थकर्ताको हरेक महिना पूरै साँवा रकमको दशदेखि २४ प्रतिशतसम्म ब्याज अशुली गर्ने गरेको अवस्थामा लगानी गरेको रकम भाखा अनुरुप  तेस्रो पक्षले निर्धारित समयमा भुक्तान नगर्दा पहिलो  पक्षको लगानी रकम जोखिममा परेको देखिन्छ ।

बैंक, वित्तीय संस्था र सहकारी संस्थाले भन्दा बढी ब्याज दिने तथा पाउने प्रलोभनमा विशेष गरेर पैसा भएका तर आर्थिक कारोबार सम्बन्धी ज्ञान नभएका अधिकांश मानिसहरुको लगानी यस्तो समस्यामा पर्ने गरेको पाइन्छ । 

यसरी मिटर ब्याजको प्रलोभनमा परि रकम लगानी गर्नेहरुमा सामान्य मजदूरदेखि बजारका सम्पन्न व्यक्तिहरु  यस्तो कारोबारमा संलग्न रहेको तथ्यांकले देखाएको छ । 

विदेशबाट आएको विप्रेषण, ढुकुटी बुझेर, बैंकमा घरजग्गा धितो राखेर मिटर ब्याजमा लगाउनेहरु पनि यस्तो अवैध कारोबारमा संलग्न रहेको तथा यस्तो कार्यमा ठगिनेहरुमा पुरुषहरुभन्दा बढी महिलाहरु नै रहेको अवस्था दिनानुदिन गम्भीर बन्दै गएको छ ।

मिटरब्याजको बेथा देशैभर छ । संघीय राजधानीमा आन्दोलन पनि चलिरहेकै छ । तर पीडितका बेथामा मल्हम लागेको छैन । सिकार हुने क्रम रोकिएको पनि छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ