पहलगाम हमलाको राष्ट्रिय एकता अभियानद्वारा भर्त्सना, बढ्दो आतंकवादप्रति गम्भीर चिन्ता
आतंकवाद कुनै धर्मको सन्देश नभई कट्टरपन्थी शक्तिको आपराधिक प्रयोग भएको स्पष्ट
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ११ बिहिबार
639
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । राष्ट्रिय एकता अभियान – नेपालले जम्मू-कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको कडा शब्दमा भर्त्सना गरेको छ। विज्ञप्ति जारी गर्दै अभियानले उक्त हमलामा एक नेपाली नागरिकसहित विदेशी पर्यटक र निर्दोष भारतीय नागरिकको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
अभियानका केन्द्रीय अध्यक्ष विनय यादवद्वारा जारी विज्ञप्तिमा यो हमलालाई केवल भारतको भूमिमाथिको आक्रमण नभई सम्पूर्ण मानव सभ्यतामाथिको क्रुर प्रहारको संज्ञा दिइएको छ ।
विज्ञप्तिमा पाकिस्तानस्थित कुख्यात आतंकी संगठन लश्कर-ए-तैयबाले पाकिस्तानी गुप्तचर संस्था आईएसआईको संरक्षणमा यो हमला गरेको प्रमाणित भएको दाबी गरिएको छ। लश्कर-ए-तैयबा लामो समयदेखि भारतसहित सम्पूर्ण दक्षिण एसियाको शान्तिमा खलल पुर्याउँदै आएको अभियानको ठहर छ ।
विज्ञप्तिमा भारतमा भएका २००८ को मुम्बई हमला, पुलवामा आक्रमण लगायत दर्जनौँ आतंकी घटनाहरूमा लश्कर-ए-तैयबाको संलग्नता विश्वभरका सुरक्षा निकायहरूले प्रमाणित गरिसकेको उल्लेख छ ।
नेपाल पनि यस सञ्जालबाट अछुतो नरहेको र विगतमा काठमाडौँस्थित पाकिस्तानी दूतावासबाट आतंकी गतिविधिलाई कूटनीतिक आवरणमा संरक्षण दिइएको तथ्य सार्वजनिक भइसकेको अभियानले स्मरण गराएको छ ।
सन् १९९९ मा काठमाडौँबाट हाइज्याक गरिएको आईसी-८१४ विमान र त्यसपछिका घटनाक्रमहरू, जसमा मौलाना मसूद अजहर जस्ता आतंकीलाई भारतले रिहा गर्नुपरेको थियो । नेपालका लागि चेतावनी स्वरूप रहेको अभियानले जनाएको छ । यस्ता घटनाले नेपालको अन्तर्राष्ट्रिय छवि र पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको पनि विज्ञप्तिमा उल्लेख छ ।
नेपाल र भारतबीचको खुला सीमा आतंकवादका लागि सुलभ मार्ग बन्न नदिन सरकारले उच्च सतर्कता अपनाउनुपर्नेमा अभियानले जोड दिएको छ । इस्लामिक आतंकवाद केवल भारत वा नेपालको मात्र समस्या नभई यो सम्पूर्ण दक्षिण एसिया, एसिया र विश्वको साझा चुनौती भएको अभियानको ठहर छ ।
अमेरिका, श्रीलंकासँगै दर्जनौँ युरोपेली देशहरूले इस्लामिक आतंकको आक्रमण झेलेको तथ्य पनि विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रिय एकता अभियानले आतंकवाद कुनै धर्मको सन्देश नभई कट्टरपन्थी शक्तिको आपराधिक प्रयोग भएको स्पष्ट पारेको छ। लश्कर-ए-तैयबा जस्ता संगठनलाई अन्तर्राष्ट्रिय आतंक संगठनको रूपमा पूर्णरूपमा प्रतिबन्ध लगाउनुपर्ने माग अभियानले गरेको छ ।
साथै नेपाल सरकारले आतङ्कविरोधी कानुनी तथा सुरक्षात्मक संरचना थप मजबुत बनाउनुपर्ने र भारत सरकारद्वारा चालिने कडा आतङ्कविरोधी कदमहरूमा पूर्ण समर्थन रहने अभियानले जनाएको छ।
राष्ट्रिय एकता अभियान – नेपालले भारत सरकारप्रति ऐक्यबद्धता प्रकट गर्दै अन्तर्राष्ट्रिय समुदाय, विशेषतः संयुक्त राष्ट्र संघलाई इस्लामिक आतंकवादको विरुद्ध ठोस र निर्णायक कदम चाल्न आह्वान गरेको छ ।
अब मानवताले जित्नुपर्ने र आतंकले हार्नुपर्ने निर्णायक लडाइँको समय आएको विज्ञप्तिमा उल्लेख छ।