arrow

राष्ट्रपति मुर्मूलाई पहलगाम हमलाको जानकारी, पाकिस्तानी नागरिकलाई भारत छोड्न निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ११ बिहिबार
murmu-amit-jayshankar.jpg

काठमाडौँ । भारतीय केन्द्र सरकारले जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाका बारेमा राष्ट्रपति द्रौपदी मुर्मूलाई जानकारी दिएको छ । 

गृहमन्त्री अमित शाह र विदेश मन्त्री एस जयशंकरले राष्ट्रपतिलाई भेटेर सो जानकारी दिएका हुन् । मंगलबार दिउँसो आतंकवादीले नाम र धर्म सोधेर हिन्दूधर्मीमाथि अन्धाधुन्ध गोली चलाएका थिए । 

जसका कारण एक नेपाली र एक यूएईका नागरिकसहित २७ भारतीयको मृत्यु भएको थियो । थुप्रैलाई गोली लागेको छ । 

साथै भारतीय विदेश मन्त्रालयका अनुसार पहलगाम घटनाका कारण पाकिस्तानी नागरिकका लागि भिसा सेवा तत्काल रोकिएको छ । 

सबै पाकिस्तानी नागरिकको भिसा २७ अप्रिल (आगामी आइतबार) देखि रद्ध गरिएकाले भारत छाड्नु पर्नेछ । 

त्यस्तै मेडिकल भिसा लिएर आएकाले आगामी मंगलबारभित्र भारत छोड्नु पर्नेछ । विदेश मन्त्रालयले भारतीय नागरिकलाई पनि पाकिस्तानको यात्रा नगर्न सल्लाह दिएको छ । 

यता सैन्य प्रमुख उपेन्द्र द्विवेदीले शुक्रबार श्रीनगर जाने छन् । यसअघि भारतले बिहीबार दिउँसो आइएनएस सूरत युद्धपोतबाट मिसाइल परीक्षण गरेको छ । 

परीक्षण सफल भएको बताइएको छ । यो मिसाइलले जमीन सतहबाट समुद्र सतहमा हमला गर्नेछ । 

यसैबीच साँझ ६ बजे सरकारको निमन्त्रणामा सर्वदलीय बैठक बस्दैछ । बैठकको अध्यक्षता रक्षामन्त्री राजनाथ सिंहले गर्नेछन् । उक्त बैठकमा विपक्षी दल कांग्रेसका नेता राहुल गान्धी पनि हुनेछन् । 

यता, प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादीलाई कडा सन्देश दिएका छन् । बिहारको मधुबनीमा बोल्दै मोदीले ‘पहलगामका दोषीलाई माटोमा मिलाउने समय आएको छ । आतंकवादीले कल्पना गरेभन्दा ठूलो सजाय मिल्नेछ ।’

उनले अगाडि भने, ‘आतंकवादी हमलामा कसैले आफ्नो छोरो गुमाएका छन् । कसैले भाइ, कसैले जीवनसाथी गुमाए ।’

मोदीले विश्वलाई नै सन्देश दिँदै भने, ‘हामीले उनीहरु (आतंककारी) लाई पृथ्वीको अन्तिम छेउँसम्म लखेट्ने छौँ । आतंकवादबाट भारतको आत्मा छुट्ने छैन । आतंकवादलाई सजाय मिल्नेछ ।’

मोदीले अन्तिममा भने, ‘न्याय सुनिश्चित गर्न हरसम्भव प्रयास गरिने छ । पूरा देश यसै संकल्पमा एक छ । मानवतामा विश्वास राख्ने हरेक व्यक्ति हाम्रो साथमा छन् । म विभिन्न देशका देशवासी र उनीहरुका नेताहरुलाई धन्यवाद दिन चाहन्छु जो हाम्रो साथमा खडा रहेका छन् ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ