वीरगञ्जमा शान्तिपूर्ण र्यालीमा अवरोधप्रति राष्ट्रिय एकता अभियानको तीव्र विरोध
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १९ शुक्रबार
941
Shares
वीरगञ्ज । भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणको विरोधमा आयोजित शान्तिपूर्ण विरोध र्यालीमा स्थानीय प्रशासनद्वारा अवरोध सिर्जना गरिएकोप्रति राष्ट्रिय एकता अभियानले कडा आपत्ति जनाएको छ ।
राष्ट्रिय एकता अभियानले बाराको सिमरादेखि पर्साको वीरगञ्जसम्म बिहीवार आयोजना गरेको र्यालीमा प्रहरीले जितपुर नजिकै हस्तक्षेप गरी केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो । यद्यपि अभियानका कार्यकर्ताहरू वैकल्पिक मार्ग प्रयोग गर्दै वीरगञ्जको ऐतिहासिक घण्टाघरसम्म पुग्न सफल भएका थिए र त्यहाँ विरोध प्रदर्शन सम्पन्न गरेका थिए ।
अभियानका अध्यक्ष विनय यादवले जारी गरेको प्रेस विज्ञप्तिमा यस कार्यलाई अभिव्यक्ति स्वतन्त्रताको हनन भन्दै प्रशासनको अमानवीय र अलोकतान्त्रिक व्यवहारको घोर निन्दा गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “हाम्रो प्रदर्शन पूर्णतः शान्तिपूर्ण थियो, जसको उद्देश्य पहलगाममा ज्यान गुमाएका सुरक्षाकर्मी, नागरिक र नेपाली नागरिक सुदीप न्यौपानेप्रति श्रद्धाञ्जली अर्पण गर्नु र आतंकवादविरुद्ध अन्तर्राष्ट्रिय जगतमा सन्देश दिनु हो।”
अभियानले सरकार र सम्बन्धित निकायहरूलाई तत्काल छानबिन गरी दोषी अधिकारीमाथि कडा कारबाही गर्न माग गरेको छ। साथै सरकारले आतंकवादविरुद्ध स्पष्ट अडान लिनुपर्ने र अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाउनुपर्ने माग पनि राखिएको छ ।
अभियानले वीरगञ्जका नागरिकहरूलाई शान्तिपूर्ण ढंगले आतंकवाद विरुद्धको आवाजमा सहभागी हुन आह्वान गरेको छ।