एनएमबि बैङ्कको अगुवाइमा लाप्चे तामाकोसी जलविद्युत आयोजना तथा चेपे खोला क्यास्केड जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २९ सोमबार
525
Shares
काठमाडौँ। एनएमबि बैङ्क लिमिटेड, नबिल बैङ्क लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेड, एभरेस्ट बैङ्क लिमिटेड, तथा डायनामिक हाइड्रो ईनर्जी प्रालिबीच ४२ मेगावाट क्षमताको दोलखा जिल्ला, विगु गाउँपालिकामा अवस्थित लाप्चे तामाकोसी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ। यस आयोजनामा एनएमबि बैङ्क लिमिटेड अगुवा बैङ्क रहने छ। ४२ मेगावाट क्षमता रहेको लाप्चे तामाकोसी जलविद्युत आयोजनाको करिब लागत रु.७ अर्ब रहने जानकारी गराइएको छ भने बैङ्क तथा वित्तीय संस्थाहरूको ऋण लगानी रु.५ अर्ब २५ करोड रहनेछ।
साथै एनएमबि बैङ्क लि.ले एकल लगानीमा चेपे खोला क्यास्केड जलविद्युत आयोजना (२ मेगावाट) को पनि वित्तीय व्यवस्थापन समापन गरेको छ। २ मेगावाट क्षमता रहेको चेपे खोला क्यास्केड जलविद्युत आयोजनाको अनुमानित लागत रु. ४३ करोड ४० लाख रहेको छ भने एनएमबि बैङ्क लिमिटेडले रु. ३४ करोड ऋण लगानी गर्ने भएको छ।
एनएमबि बैङ्क लिमिटेडको तर्फबाट दिनेश दुलाल – चिफ, सस्टेनेबल ईनर्जी बैङ्किङ तथा डायनामिक हाइड्रो ईनर्जी प्रालिको तर्फबाट अध्यक्ष मोहन विक्रम कार्कीले ऋण सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। एनएमबि बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे तथा कम्पनीको तर्फबाट अध्यक्ष मोहन विक्रम कार्कीले ऋण सम्झौता पत्र आदान प्रदान गरे।
सोही कार्यक्रममा एनएमबि बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले एनएमबि बैङ्क लिमिटेडमा हाइड्रोपावर परियोजनाको प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्ष तथा अन्य जोखिमको सूक्ष्म तरिकाले अध्ययन तथा निगरानी गरी सोको उचित समाधान दिने जानकारी गराए।
साथै मोहन विक्रम कार्कीले एनएमबि बैङ्क लिमिटेडसँग यस परियोजना सहित ८ वटा परियोजनाको लागि ऋण उपभोग गरिरहेको तथा यस परियोजना निर्धारित लागत तथा समय सीमामा सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गरे। एनएमबि बैङ्क लिमिटेडले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरूमा लगानी गरिसकेको छ।
नेपाल राष्ट्र बैङ्कबाट जारी वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन, २०२२को निर्देशन अनुसार एनएमबि बैङ्कले वातावरणीय तथा सामाजिक नीति तयार पारी त्यस बमोजिम बैङ्कले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागु गरिसकेको छ।