ओलीको दाबी: मेरो आग्रहपछि भारत-पाकिस्तान युद्ध टर्यो [भिडियो]
संयमका लागि उहाँहरूलाई धन्यवाद छ
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २९ सोमबार
1k
Shares
काठमडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भारत र पाकिस्तानलाई संयम रहन आग्रह गरेपछि दुई देशबीचको सम्भावित युद्ध रोकिएको दाबी गरेका छन्। २५६९ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा आज लुम्बिनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही दिनअघि छिमेकी मुलुक भारत र पाकिस्तानबीच युद्धको स्थिति सिर्जना भए पनि त्यो अघि बढ्न नपाएको बताए।
प्रधानमन्त्री ओलीले भने, "केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा झन्डै झन्डै भारत र पाकिस्तानको अलिकति हात हालाहाल त भएको थियो। तर हात हालाहाल बढ्न पाएन। संयमका लागि उहाँहरूलाई धन्यवाद छ। हामीले शुरुदेखि भन्यौँ, विस्तार हुन नपाओस् है यो। यो हात हालाहालको स्थिति लडाईंमा परिणत हुन नपाओस् भन्ने हामीले कामना गर्यौं। उहाँहरूसँग पनि कुरा गर्यौं। नभन्दै, उहाँहरूले लडाईंमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।"
उनले दुवै मुलुकलाई संयमता अपनाएकोमा धन्यवाद दिँदै अझै पनि केही आरोप/प्रत्यारोपको स्थिति जारी रहेको बताए। प्रधानमन्त्री ओलीले बुद्धका शान्तिका सन्देशहरूको महत्व अहिले पनि र सबै ठाउँमा रहेको उल्लेख गरे। उनले व्यक्तिको मनस्थिति, पारिवारिक र समग्र शान्तिका लागि बुद्धको सन्देश सान्दर्भिक रहेको धारणा व्यक्त गरे।