सगरमाथा संवादमा सार्क राष्ट्रका सरकार प्रमुखको अनुपस्थिति कूटनीतिक असफलता- सांसद कुँवर [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ५ सोमबार
671
Shares
काठमाडौं ।नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले सगरमाथा संवादमा सार्क मुलुकका एक जना पनि सरकार प्रमुखको उपस्थिति नहुनु सरकारको कूटनीतिक असफलता भएको आरोप लगाएका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद कुँवरले नेपाली जनताले उत्सुकतापूर्वक प्रतीक्षा गरेको र प्रधानमन्त्री स्वयंले आह्वान गरेको संवादमा सार्क राष्ट्रका एकजना पनि प्रमुख उपस्थित नहुनु दुःखद भएको बताए। उनले अछाममा प्राकृतिक विपत्तिमा परेकाहरूले बाढीपहिरो र भूकम्प जस्ता प्रकोपबाट विस्थापित भएको दुई दशक बितिसक्दा पनि राज्यबाट राहत पाउन नसकेको गुनासो गरे। जनताले राहत पाउन सांसदले कति पटक संसद्मा बोल्नुपर्ने हो भनी उनले प्रश्न गरे।
सांसद कुँवरले भने, ‘अछाममा प्राकृतिक विपत्तिमा परेकाहरूले विगत दुई दशकदेखि राहत पाउन सकेका छैनन्। बाढीपहिरो, भूकम्प जस्ता प्राकृतिक विपत्तिबाट विस्थापित भएकाहरूले पुनर्निर्माणका लागि सरकारबाट निश्चित रकमको व्यवस्था गरिएको भए पनि अहिलेसम्म पीडितले राहत पाउन सकेका छैनन्। जनताले राहत पाउन हामी सांसदले संसद्मा कति पटक बोल्नुपर्ने हो सभामुख महोदय? र कति पटक बोलिसकेपछि राहत पाउँछन्? जनताले राहत पाउन कति वर्ष दुःख गर्नुपर्ने हो? सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। जेठ २ गतेदेखि आयोजना गरिएको सगरमाथा संवाद २५ बुँदे घोषणापत्र जारी गर्दै सकियो। र जलवायु सम्बन्धी हाम्रा आवाजहरूलाई, हाम्रा मुद्दाहरूलाई विश्वसामु हामीले उजागर पनि गर्यौं। नेपाली जनताले रुचिपूर्वक प्रतीक्षा गरेको र प्रधानमन्त्री स्वयंले आह्वान गरेको संवादमा सार्क मुलुक बाहिरका प्रधानमन्त्री सरकार प्रमुखलाई सहभागी गराउन सक्नुभएन होला तर आफैँ अध्यक्ष भएको सार्क मुलुकका एक जना पनि सरकार प्रमुखलाई उपस्थिति गराउन नसक्नुलाई राष्ट्रिय असक्षमता वा कूटनीतिक असफलता के भन्ने?’
उनले राहत पाउनका लागि कति वर्ष दुःख सहनुपर्ने हो भन्दै तत्काल पीडितलाई राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका थिए।