arrow

दुई हिमताल भासिएसँगै तिलगाउँवासीको उठिवास, अन्न सखाप भएपछि राहतको पर्खाइमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ५ सोमबार
telgau-pahiro.jpg

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ तिलगाउँमा हिमपहिरोले क्षति पुर्याएको छ । गत जेठ १ गते राति आएको बाढीपहिरोले तिलगाउँमा सिँचाइ, जलविद्युत्, खानेपानीलगायत संरचनामा क्षति पुर्याएको हो । 

नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङका अनुसार तिलगाउँभन्दा माथि रहेका दुई हिमताल भासिएका छन् । हिमताल भासिएपछि गाउँमा बाढीपहिरो आएको उनले बताए ।  “हिमताल फुटेका होइनन्, जमीन नै भासिएको हो”, वडाध्यक्ष तामाङले भने । आइतबार नौ घण्टा हिँडेर उनको टोली ताल भासिएको ठाउँमा पुगेको थियो । 

“लेदो र पहिरो आउने क्रम रोकिएको छ । यहाँका बासिन्दा  त्रसित छन्”, उनले भने ।  

खोलाको दूषित पानी पिउँदै स्थानीय
   
तिलगाउँका १९ परिवारका ३३ जना गाउँमा बाढीपहिरो आएपछि खोलाको दूषित पानी पिउन बाध्य छन् । खानेपानीका पाइप र मुहानमा क्षति पुगेको वडाध्यक्ष तामाङले बताए । “गाउँमा ल्याइएको खानेपानीको मुहान नै बगाएको छ । पाइप फुटेका छन् । स्थानीयले खोलाको धमिलो पानी पिउन थालेका छन्”, उहाँले भन्नुभयो । 

त्रिपालमुनिको बास 

तिलगाउँमा बाढीपहिरो आएपछि यहाँका ३३ जना विद्यालय नजिकै पाल टाँगेर बस्दै आएका छन् । गाउँमा बूढापाका र बालबालिका मात्रै छन् । उनीहरु पहिरोको त्रासले तिलगाउँभन्दा टाढा त्रिपालमुनि बस्न थालेका छन् । “दिउँसो खानेकुरा लिन गाउँमा आउने गरेका छन्, राति सुत्न भने त्रिपाल टाँगेकै ठाउँमा फर्किने गरेका छन्”, वडाध्यक्ष तामाङले भने

 गाउँका अन्य युवायुवती रोजगारीका लागि तिब्बत गएका छन् । हिमपहिरोले विभिन्न भौतिक पूर्वाधारदेखि खेतीयोग्य जमीनमा क्षति पुर्याएको छ ।  

जलविद्युत् आयोजनामा क्षति 
बाढीले गाउँ नजिक रहेको १५ किलोवाट क्षमताको जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ । अहिले यहाँका बासिन्दा बिजुलीविहीन अवस्थामा छन् । मोबाइलमा चार्ज गर्न समस्या भएको स्थानीयले बताएका छन् । 

पाक्न लागेको उवा बाली पनि सबै सखाप भएको छ । उवा बाली सबै बगाएपछि स्थानीयवासी राहतको प्रतीक्षामा रहेका वडाध्यक्ष तामाङले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ