एनएमबि बैङ्कद्वारा एसीएएन सदस्यहरूलाई लक्षित विशेष वित्तीय सेवाहरूको घोषणा
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ७ बुधबार
588
Shares
काठमाडौँ। एनएमबि बैङ्कले एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्टस अफ नेपाल एसीएएनसँग सम्झौता सम्पन्न गरेको छ। एसीएएनमा आबद्ध रहेका सदस्यहरूलाई लक्षित गरी विशेष वित्तीय सेवाहरू प्रदान गर्ने प्रतिबद्धता बैङ्कले उक्त सम्झौतामा उल्लेख गरेको छ। यो सहकार्य एनएमबि बैङ्कको समावेशी र मूल्य–आधारित बैङ्किङ सेवाको प्रतिबद्धता र नेपालमा रहेका पेसागत समुदायलाई टेवा प्रदान गर्ने उद्देश्यले सम्पन्न गरिएको हो।
एनएमबि बैङ्कले वित्तीय साक्षरताको प्रवर्द्धन र आर्थिक विकासमा उनीहरूको भूमिकालाई मान्यता दिँदै विशेष सेवा तथा ऋण योजनाहरू प्रस्तुत गरेको हो।
एसीएएन सदस्यहरूले बैङ्कबाट कर्जा उपभोग गर्दा ऋण प्रशासनिक शुल्कमा छुट, सरल कागजात प्रक्रिया, एनएमबि भिसा प्लेटिनम क्रेडिट कार्ड तथा ग्रिन सेभिङ खातासहितका डिजिटल र कार्ड सेवाहरूको उपभोग गर्न सक्नेछन्। साथै, एनएमबिको प्राथमिक बैङ्किङ सेवा अन्तर्गत व्यक्तिगत सम्बन्ध व्यवस्थापन तथा विशेष सुविधाहरू पनि प्रदान गरिनेछ।
यो प्रयास एनएमबि बैङ्कको पोर्टफोलियो विस्तार गर्ने साथै पेसागत वर्गहरूलाई पहुँचयोग्य तथा दिगो बैङ्किङ समाधान प्रदान गर्ने लक्ष्यको प्रतिबिम्ब हो।
हाल एनएमबि बैङ्कले देशभर २०२ शाखा, १८७ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत व्यापक वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।