धमिलो पानी पिएर पालमा बस्न बाध्य तिल गाउँवासीका लागि सात दिनपछि राहतसहित पुग्यो सरकार
जनकबहादुर शाही,
प्रकाशित २०८२ जेठ ७ बुधबार
1k
Shares
हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका– ६ को लिमीको तिल गाउँका पहिरो पीडित सात दिनदेखि खोलाको धमिलो पानी पिउन र पालमा बस्न बाध्य भएकामा सात दिनपछि राहतसहितको सरकारी टोली तिल पुगेको छ ।
गाउँ पहिरोको जोखिममा देखिएपछि स्थानीयलाई सुरक्षित राख्न गाउँको पश्चिमपट्टिको सुरक्षित स्थान हिमशिखर आधारभुत विद्यालयमा पाल टाँगेर बस्ने ब्यवस्था गरिएको र सम्भावित पहिरो आउने डर र स्थानीयलाई सुरक्षित राख्न विद्यालयको खुला चौरमा पाल टाँगेर राति बस्ने ब्यवस्था गरिएको लिमीका वडाध्यक्ष पाल्जोर तामाङले बताए।
विद्यालयको खुला चौरमा केही सुरक्षित देखिएपछि तिल गाउँवासी सबैलाई उक्त स्थानमा वस्ने ब्यवस्था गरिएको हो। बिहान घरमा आउने काम गर्ने र राति मात्र उनी पालमा गएर सुत्ने गर्दै आएका छन् ।
१८ घरधुरीका ३२ जनालाई सो स्थानमा अस्थायी वासको ब्यवस्था गरिएको नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामाले बताए ।
तिल गाउँ र कञ्जुम गुम्बाको बीच भएर बग्ने सेखाङलुग्वा खोलामा पहिरो आउँदा तीस हल खेती योग्य उवा छरेको जमिन र बिजुलीको पावर हाउस पूर्ण रुपमा बगाएको छ । सो पहिरो तिल गाउँमाथिको काँजी हिमालबाट आएको हुनाले हिमालको फेदीमा हिमताल फुटेको हो । त्यसैगरी पहिरोबाट सिचाई कुलोलाई पनि पूर्ण रुपमा क्षति पुगेको छ । खानेपानीको लाईनमा क्षति पुगेपछि गाउँमा खानेपानीको पनि समस्या भएको छ ।
पहिरोले बगाएपछि तिल गाउँबाट गुम्बा आवतजावत गर्ने बाटो अबरोध भएको छ। हिल्सावाट सशस्त्र र नेपाल प्रहरी तिल गाउँ आई क्षतिको विवरणसमेत लिइसकेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सीईओ ई. दिनेश भट्टले मंगलबारको एक कार्यक्रममा तिल गाउँमा खानेपानी मर्मतका लागि पाइप पुर्याइसकेको बताएका भए पनि पार्इप नपुग्दा हिमताल भासिएर लेदो सहितको बाढीले खानेपानीको संरचना समेत क्षतविक्षत भएपछि तिलका स्थानीयवासी गाउँ नजिकैको गुनछुसा खोलाको धमिलो पानी खान बाध्य भएका छन ।
पहिरोले क्षेतबिक्षत तिल गाउँका स्थानीयबासीका लागि नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामाको नेतृत्वमा राहात सहितको सहरकारी टोली आज तिलगाउँ पुगेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए ।
घोडाबाट पुर्याउँदैछ तिलगाउँमा राहत
जिल्ला विपत व्यवस्थापन समितिको समन्वयमा नाम्खा गाउँपालिका र विभिन्न संघ संस्थाको सहयोगमा दाल, चामल, तेल, चिउरा, भुजालगायत खाद्यान्न सामग्री तिलगाउँ पुगेको हो ।
पहिरोले विस्थापित तिलबासीका लागि नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामाको नेतृत्वमा राहात सामग्री आज तिलगाउँ पुगेको पुर्याएको छ।
राहतमा दाल, चामल, तेल, चिउरा, भुजालगायत खाद्यान्न सामाग्री र१८ सय मिटर खानेपानीको पार्इप समावेश छन् र गाउँपालिकाले गाडी र घोडा प्रयोग गरी वितरण गरेको हो।
हिरोका कारण १८ घरधुरी विस्थापित भए पनि मानवीय क्षति नभएको र भौतिक क्षति ठूलो भएको एक सातापछि राहत पुगेको छ ।
घोडाहरुले बोकेर उक्त सामाग्री पुर्याएको नाम्खा–६ का वडाध्यक्ष पाल्जोर लामाले बताए । तिलगाउँबाट आएका घोडाहरुले राहत सामाग्री पुर्याएपछि स्थानीयहरु खुसी भएका छन् । स्थानीय तहले केही राहतको समाग्री पुर्याए पनि संघ र प्रदेश भने बेखबर बनेको गुनासो स्थानीयको छ ।
१ जेठको राति साढे १० बजेतिर दुई वटा ताल फुटेर हिमपहिरो जाँदा तिलगाउँबासी अहिले विस्थापित बनेका छन् । ५० घर मध्ये १८ घरधुरी बस्दै आएका तिलगाउँबासी अहिले भने त्रिपाल टाँगेर बस्ने बाध्य छन् भने खोलाको धमिलो पानी पिउनुपर्ने अवस्था छ ।
हिमपहिरोका कारण मानवीय क्षति नभए पनि भौतिक क्षति भने ठूलो भएको छ । हाइड्रोवापरदेखि खेत, कुलो, खानेपानी, धर्मशालामा ठूलो क्षति पुगेको छ । १ जेठको राति तिलगाउँभन्दा करिब ८ घण्टा टाढाको ठग्रा नाग्ना भन्ने स्थानबाट दुई वटा हिमताल भाँसिएर हिमपहिरो आएपछि अहिले गाउँ विस्थापित छ ।
तिलगाउँका स्थानीयवासीहरु हिमशिखर आधारभूत विद्यालय नजिकै खुला चौरमा त्रिपालमुनि बसेका छन् । ‘चिसोमा त्रिपालमा बाँस बस्ने र खोलाको धमिलो पानी खान बाध्य छौं’ नाम्खा गाउँपालिका ६ का कोन्जोक मुटुप लामाले गुनासो गरे । वृद्धवृद्धा बालबालिकालाई चिसो र धमिलो पानीका कारण विरामी हुने चिन्ता तिलगाउँबासीको छ ।
जलवायु परिवर्तनको हानी नोक्सानीबाट बच्ने र न्युनिकरणका उपाय खोज्ने विषयमा राजधानी काठमाडौँमा सगरमाथा संवादमा चलिरहँदा यो विषय भने गौण बनेको नाम्खाबासीको गुनासो छ। तिलगाउँ र हल्जीमात्रै होइन जलवायु परिवर्तनको निकै ठूलो मारमा लिमी उपत्यका रहेको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामाले बताए ।
तिलगाउँ जस्तै यसअघि ४ साउन २०७७ मा नाम्खा–६ कै हल्जी गाउँ पनि जोखिममा परेको थियो । हल्जी गाउँभन्दा उत्तरतर्फबाट हिमपहिरो आएको थियो। त्यतिबेला ९६ घरधुरीका नागरिकहरु जोखिममा परेको स्थानीय फुर्वा तामाङ अहिले पनि स्मरण गर्छन् । अहिले पनि यो गाउँ त्रासमा रहेको उनी बताउँछन् ।