गाउँगाउँमा कृषि रणनीति बनाउँदै हिँड्ने क्रममा पुगियो, रामेछापको उमाकुण्ड गाउँपालिकाको प्रिती । नामै काफी । यसै प्रितीमा भेटिए— स्थानीय युवक, अनिश खड्का । उमेर बताएनन् तर हुँदा हुन्, त्यस्तै १९–२० का ।
जिरी प्राविधिक शिक्षालयमा पशुचिकित्सातर्फ तीन वर्षे डिप्लोमा पढ्दा रहेछन् । अब ५ महिनामा उनी चिकित्सक बन्ने रहेछन् । खर्च जुटाउँदा रहेछन् – खुर्सानी बेचेर ।
एकछिन कुरा गर्दा त उनी भविष्यका विनोद चौधरी नै देखिए ।
गाउँमा आफन्तहरुले उत्पादन गरेको अकबरे डल्ले खुर्सानी दुईदेखि दुई सय ५० रुपैयाँसम्ममा खरीद गरी गाउँगाउँमा बेच्दा रहेछन् । उनको बिक्री मूल्य रहेछ, तीन सय देखि तीन सय ५० रुपैयाँ ।
यसरी बजार खोज्दै ७५ किलोमिटरको यात्रा तय गरेका रहेछन् । प्रितीमा उनीसँग जेठ ३ गते साँझमा भेटियो । बिहान ६० केजी लिएर हिँडेका उनले करिब ४० केजी बेचिसके ।
उनकै हिसाबले पनि अहिलेसम्ममा चार हजार आसपासमा नाफा कमाइसके । यसैलाई आधार मान्दा पनि उनको कमाइ कति भयो होला ? चार गुणा ३०, कति ? मात्र एक लाख २० हजार ।
यसमा उनले आज हजारको पेट्रोल हालेका रहेछन् । अब ७५ किमी फर्किँदा उनको तेल सकिन्छ । बाँकी सबै बेचे उनको आजको कमाइ सात हजार हुने देखियो । हजार कटाउँदा तीनदेखि सात हजार कमाइ ।
त्यसमा साथीभाइ वा एक्लै खाजासाजा खाँदा पाँच सय कटाउँदा पनि आजको कमाइ २५ सयदेखि ५५ सय पक्का भो ।
आउनुहोस्, यी भविष्यका चौधरीको कुरा सुनौँ । (लेखक ओझा किसानहरुको सिक्ने क्षमता विषयमा पोष्ट डक्टरल अनुसन्धानकर्ता हुन्)