हुम्ला । हुम्लाको हिमाल पारीको तिलमा गत जेठ १ गते राति आएको बाढी पहिरोको कारण अध्ययन गर्न सरकारी टोली हुम्ला आइपुगेको छ । घटनाको कारण पत्ता लाग्न विज्ञसहितको टोली पहिरो गएको आठौँ दिनमा हुम्ला पुगेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनिर सुशीलकुमार श्रेष्ठ नेतृत्वको तीन सदस्यीय टोली बिहीबार बिहान हुम्ला सुदरमुकाम सिमिकोट आएको हो ।
टोलीमा जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट इन्जिनियर सौहाद्र जोशी र खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जिओलोजिस्ट शिवकुमार बास्कोटा रहेका छन् ।
विज्ञहरुको टोली हुम्ला आउने भनेर मंगलबार काठमाडौँबाट नेपालगञ्ज प्रस्थान गरेको थियो । हवाइ टिकट नपाएर नेपालगञ्जमै रोकिएको अध्ययन टोली बिहीबार सिमकोट पुगेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए ।
घटनाको कारण अध्ययनका लागि सिमकोट पुगेको टोली आजै प्रभावित स्थल तिलगाउँतर्फ लागेको छ ।
बिना वर्षा एक्कासी बाढी आउँदा स्थानीयबासी अचम्ममा परेका छन् । यसरी बाढी आउनुको कारण तिलगाउँ भन्दा झन्डै ५३ सय ५० मिटरको उचाइ अर्थात् सगरमाथा आधार शिविरकै उचाइमा रहेका २ वटा ताल भासिएर पहिरो आएको स्थानीयले बताएका छन् ।