arrow

एमपक्सको सङ्क्रमण बढ्दो: तीन हजारभन्दा बढी प्रभावित, १४ को मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ११ आइतबार
mpox-india.jpg

काठमाडौँ । पश्चिम अफ्रिकी मुलुक सियरा लियोनमा सन् २०२५ को सुरुदेखि हालसम्म एमपक्सका बिरामीको सङ्ख्या ३ हजार ११ पुगेको छ भने १४ जनाको मृत्यु भएको नयाँ सरकारी तथ्याङ्कले देखाएको छ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार राति सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार सियरा लियोनका सबै क्षेत्रमा अहिले सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो १० दिनमा (मे १३ देखि) सङ्क्रमितको संख्या करिब ५० प्रतिशतले बढेको छ। मे १३ मा २ हजार ४५ जना सङ्क्रमित र ११ जनाको मृत्यु भएको अघिल्लो अद्यावधिक तथ्यांकले देखाएको थियो।

एमपक्स के हो?
एमपक्स बिफरजस्तै संक्रमित व्यक्तिबाट सर्ने एक संक्रामक रोग हो। यसका सामान्य लक्षणहरूमा ज्वरो आउने, रुघा लाग्ने, छालामा घाउ देखा पर्ने र लामो समयसम्म निको नहुने समावेश छन्। सन् १९७० मा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा पहिलो पटक पहिचान गरिएको यो रोग सन् २०२२ देखि व्यापक रूपमा फैलिनुअघि सामान्यतया एक दर्जन अफ्रिकी देशहरूमा मात्र सीमित थियो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् २०२४ मा एमपक्स सङ्क्रमणबाट जोगिन उच्च स्तरको चेतावनी जारी गरेको थियो।

नियन्त्रणका प्रयास र अन्य देशमा सङ्क्रमण
सङ्क्रमण बढेसँगै सियरा लियोनका अधिकारीहरूले राजधानी फ्रीटाउनमा रहेको प्रहरी प्रशिक्षण केन्द्रलाई ४०० शैयाको अस्पतालमा परिणत गरी उपचार सेवा दिन थालेका छन्। एक दशकअघि सियरा लियोन इबोला महामारीबाट सबैभन्दा बढी प्रभावित देशमध्ये एक थियो, जहाँ सन् २०१४ देखि २०१६ को बीचमा करिब चार हजार व्यक्तिको मृत्यु भएको थियो।

कङ्गो, रुवान्डा, तान्जानिया, बुरुन्डी र केन्यालगायत अन्य अफ्रिकी राज्यहरूमा पनि एमपक्सको सङ्क्रमण बढिरहेको देखिएको छ, जहाँ हजारौँ व्यक्ति सङ्क्रमित भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ