गृहमन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन शेखर कोइरालाको सुझाव [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ११ आइतबार
665
Shares
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न सुझाव दिएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा युवाहरूबाट रकम असुली गरिएको प्रकरणमा गृह मन्त्रालयको संलग्नताको विषय उठेको सन्दर्भमा कोइरालाले यस्तो भनाइ राखेका हुन्।
आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले भ्रष्टाचारको विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा राजीनामा दिनु उपयुक्त हुने बताए। उनले विगतमा समेत भ्रष्टाचारको विषय उठेका केही मन्त्रीहरूले राजीनामा दिएर अनुसन्धानमा सघाएको उदाहरण दिँदै मन्त्री लेखकलाई पनि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न सुझाव दिए।
कोइरालाले भने, "यो कुनै नौलो कुरा होइन। यदि त्यसो हो भने मोरल ग्राउण्डमा पनि उनले ल म छोडिदिन्छु छानबिन गर भनेर भने हुन्छ। सामान्य कुरा हो यो त। राजनीतिमा नैतिकता भन्ने कुरा पनि त हुन्छ नि। इस्यु आएको छ। उनको संलग्नता नहोला तर इस्यु आइसकेपछि आफू क्लिन छु भनेर देखाउनको लागि पनि छानबिन हुन जरुरी छ।"
यस प्रकरणमा विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ।