जेलमा पत्रकारलाई भेट्न पुगे वासिङ्टन पोस्टका पूर्व सम्पादकसहितको टोली
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ११ आइतबार
1.3k
Shares
काठमाडौँ । ग्वाटेमालाका पत्रकार जोस रुबेन जमोरालाई भेट्न वासिङ्टन पोस्टका पूर्व सम्पादक मार्टी ब्यारोनसहित अन्तर्राष्ट्रिय पत्रकारहरूको एउटा टोली जेल पुगेको छ। भ्रष्टाचारको विषयमा समाचार प्रकाशित गरेपछि पक्राउ परेका जमोरालाई सन् २०२३ मा छ वर्षको जेल सजाय सुनाइएको थियो, जसलाई मानव अधिकारवादी समूहहरूले 'राजनीतिबाट प्रेरित' भन्दै आलोचना गरेका थिए।
जमोराका छोरा जोस जमोराले 'एक्स' मा लेख्दै आफ्नो बुबा भ्रष्टाचारविरुद्धको अभियानमा एक्लो नभएको र उनको रिहाइको माग गर्न विश्वविख्यात पत्रकार तथा साहित्यकारहरू जेल पुगेको बताएका छन्। एल पाइसका अनुसार उक्त समूहमा ब्यारनका साथै मेक्सिकन पत्रकार कारमेन एरिस्टेगुइ, निकारागुआका पत्रकार फर्नान्डो चामोरो र लेखक सर्जियो रामिरेज समावेश थिए। उनीहरू सबै 'सेन्ट्रोअमेरिका क्युन्टा लिटरेरी फेस्टिभल' मा भाग लिन ग्वाटेमाला पुगेका थिए।
जमोरालाई गत अक्टोबरमा जेलबाट रिहा गरी नजरबन्दमा राखिएको थियो, तर मार्चमा एक न्यायाधीशले उनको सजाय उल्टाएर नयाँ मुद्दा चलाउन आदेश दिएपछि उनलाई पुनः थुनामा राखिएको छ। सन् २०२४ मा संयुक्त राष्ट्रसंघको स्वेच्छाचारी हिरासतसम्बन्धी कार्य समूहले जमोरालाई निरन्तर थुनामा राख्नु अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको ठहर गरेको थियो।