काठमाडौँ । रातो मछिन्द्रनाथको रथ आज लगनखेलबाट तानेर जावलाखेल पुर्याइएको छ । बिहीबार अपरान्हदेखि रथ तान्न सुरू गरेर साँझ जावलाखेल पुर्याइएको हो ।
वर्षा र सहकालका देवताका रूपमा पुजिने मछिन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाउने गरिन्छ । जावलाखेल पुर्याएसंगै अब आइतबार भोटो जात्रा मनाइन्छ ।
रातो मछिन्द्रनाथको जात्रा नेपालमा मनाइने सबैभन्दा लामो जात्रा हो। मछिन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा शुरु भएर आषाढ शुक्ल चतुर्थीसम्म चल्छ ।
मछिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ। पुल्चोकमा रथारोहण गरी सुरू भएको मछिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्याएर भोटो देखाइन्छ।
यससँगै मछिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ।