नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध: चोरमारा र दुम्कीवासका डाइभर्सन बगायो बाढीले
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १६ शुक्रबार
832
Shares
मध्यविन्दु (नवलपरासी) । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को चोरमारा र दुम्कीवासमा बनाइएका डाइभर्सनहरू बाढीले बगाउँदा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक यादव ढकालले दिएको जानकारीअनुसार, पूर्व–पश्चिम राजमार्गअन्तर्गत चोरमारा र दुम्कीवासमा निर्माण गरिएको वैकल्पिक सडक बिहीबार रातिको वर्षाले बगाएपछि यातायात आवागमन ठप्प भएको हो।
अहिले चोरमारा र दुम्कीवास क्षेत्रमा सयौँ यात्रु बाटोमा अलपत्र परेका छन्। भाँचिएका पुलहरूको स्थानमा बनाइएका डाइभर्सनहरू बगाएपछि वैकल्पिक सडक निर्माणको काम सुरु गरिएको छ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) अन्तर्गत पर्ने चोरमारा पुल गत वैशाख २९ गते र दुम्कीवास पुल गत पुस २६ गते भाँचिएको थियो। त्यसयता खोलाबाट डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन गरिँदै आएको थियो।