यातायात ठप्प हुँदा यात्रु मर्कामा, सरकार वार्तामा [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १९ सोमबार
586
Shares
तस्बिर – कलंकी क्षेत्र ।
काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका अधिकांश सहरी स्थानमा आज बिहानैदेखि सार्वजनिक यातायात ठप्प रहेको छ ।
सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आह्वानमा देशभरका गाडी बन्द गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
समितिले आजखेखि सार्वजनिक यातायातका साधन ग्यारेजमै थन्क्याएर विरोध गर्ने निर्णय गरेको थियो । हिजोसम्म सहमति गर्न सरकारलाई दिएको समयको सरकारले सुदुपयोग नगरेको भन्दै यातायात व्यवसायीले कडा आन्दोलन थालेका हुन् ।
गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ’का नाममा निजी प्रयोजनका निम्ति खरिद गरिएका सवारीसाधनलाई भाडाका सवारी सरह प्रयोग गर्न दिने गरी ल्याएको कानून खारेज गर्नुपर्ने व्यवसायीको मुख्य माग रहेको छ ।
आजदेखि अनिश्चितकालीन यातायात बन्द गरेसँगै सर्वसाधारण मर्कामा परेका छन् ।
अस्पताल जानुपर्ने बिरामीदेखि आफन्त, कर्मचारी, कामदार लगायत मर्कामा परेका छन् ।
सरकार वार्तामा
यता सरकार भने वार्तामा रहेको छ । सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच छलफल चलिरहेको हो ।
वार्ता सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको हो । गृहमन्त्री रमेश लेखकको पहलकदमीमा दुई पक्षबीच छलफल भएको उनको सचिवालयले जनाएको छ ।
तस्बिरमा देखिएको सुनसान कलंकी र गँगबु बसपार्कको हो ।
आन्दोलन कुन विषयमा कुरा नमिलेर ?
सातवटै प्रदेशले दुईपाङ्ग्रे र चारपाङ्ग्रे निजी सवारी साधनलाई पनि सार्वजनिक यातायात सरह यात्रु ओसार्न दिने प्रावधान ल्याउन लागेको भन्दै यातायात व्यवसायीहरु विरोधमा उत्रिएका हुन् ।
सवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत हुने गरी संघीय ऐनसँग बाझिने सातै प्रदेश सरकारहरूले ल्याउने तयारी गरेको र गण्डकी प्रदेश सरकारले मिति २०८२ जेठ १ गते राजपत्रमा प्रकाशित गरी निजी सवारीसाधन (रातो प्लेट) सञ्चालन गर्न ल्याएको नियमावली २०८२ दफा २ को (ज) तत्काल खारेजीको माग गर्दै उनीहरुले आन्दोलन गर्दै आएका छन् ।