तीन साता धकेलियो संवैधानिक आयोगका पदाधिकारी नियुक्ति विवादबारे सर्वोच्चको निर्णय सुनाउने मिति
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २८ बुधबार
749
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । सर्वोच्च अदालतले संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्तिविरुद्ध परेको रिटमा निर्णय सुनाउने मिति तीन साता पर धकेलिएको छ । न्यायाधीशहरू छलफलमै रहेकाले निर्णय सुनाउने मिति सरेको अदालतले जनाएको छ ।
निर्णय सुनाउने अर्को मिति असार १८ गते अर्थात् तीन साता पर धकेलिएको छ । बुधबार उक्त रिटमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेको संवैधानिक इजलासमा पेसी चढेको थियो ।
बुधबार नै फैसला आउने धेरैको अपेक्षा थियो । यो मुद्धा साढे चार वर्ष अगाडिको हो । अध्यादेशमार्फत संशोधित कानूनबमोजिम २०७७ साल माघ २१ गते ३२ र २०७८ साल असार १० गते २० पदाधिकारी गरी ५२ जना संवैधानिक पदाधिकारीको नियुक्त गरिएको थियो ।
पटक–पटक हेर्न नभ्याइनेमा परेर पेसी सर्दै आएकामा संवैधानिक इजलासले गत माघ मसान्तमा सुनुवाइ थालेको थियो । पेसीमा बहस सकिएर निर्णय सुनाउने मिति बुधबारका लागि तोकिएको थियो ।
नियुक्ति गरिएको विरुद्ध परेका १५ रिटलाई सँगै सुनुवाइ गरेर संवैधानिक इजलासले निर्णय सुनाउन लागेको हो ।