सक्षम कर्मचारीतन्त्र सरकार सञ्चालनको मेरुदण्ड - प्रधानमन्त्री ओली [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असार १ आइतबार
691
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शासन प्रणाली प्रभावकारी रूपमा सञ्चालन गर्न सक्षम कर्मचारीतन्त्रको आवश्यकता अपरिहार्य रहेको बताएका छन्।
लोक सेवा आयोगको ७५औँ वार्षिकोत्सव तथा हीरक जयन्तीको अवसरमा आइतवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। सक्षम, योग्य र निष्पक्ष कर्मचारी प्रशासनिक व्यवस्थाको मेरुदण्ड भएको उनको भनाइ थियो। प्रधानमन्त्री ओलीले सरकार, व्यवस्थापिका र प्रशासन संयन्त्रबीचको सहकार्यलाई सुदृढ बनाउने कुरामा जोड दिँदै सरकार र व्यवस्थापिकाले बनाएका नीति तथा कानुनहरूको कार्यान्वयनका लागि कर्मचारीले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले कर्मचारीतन्त्रलाई राजनीतिभन्दा भिन्न तर राजनीतिको नजिक रहेर काम गर्ने संवैधानिक संयन्त्रको रूपमा व्याख्या गर्दै सरकारको कार्यसफलता धेरै हदसम्म कर्मचारीको सक्षमतामा निर्भर रहने उल्लेख गरे।
ओलीले भने, "शासन व्यवस्था प्रभावकारी रूपमा सञ्चालनका लागि सरकार र प्रशासनको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। सरकारले नेतृत्वले आवश्यक नीति निर्माण गर्ने, व्यवस्थापिकाले कानुन बनाउने र प्रशासन संयन्त्रले त्यसको कार्यान्वयनमा लागि सूचना सङ्कलन गर्ने तथा सहयोग गर्ने/गराउने बाध्यता छ।"
उनले थपे, "कर्मचारीतन्त्र राजनीतिभन्दा फरक तर राजनीतिको समीपमा रहेर काम गर्ने संस्था हो। कुनै पनि मुलुकको सरकारको कार्यसफलता कर्मचारीको सक्षमतामा पनि धेरै हदसम्म निर्भर रहन्छ। तसर्थ, मुलुक सञ्चालनका लागि आवश्यक कर्मचारी योग्य, दक्ष र निपुण हुनुका अतिरिक्त स्वस्थ पनि हुनुपर्छ। लोक सेवा आयोगले जति स्वतन्त्र, निष्पक्ष, प्रभावकारी तथा वस्तुनिष्ट तवरले कर्मचारी छनोट गर्न सक्दछ, मुलुकको प्रशासनिक संयन्त्र त्यति नै बलियो र प्रभावकारी हुँदै जान्छ।"