arrow

रासायनिक हतियार प्रयोगको आरोपमा अमेरिकाले सुडानमाथि लगायो प्रतिबन्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १५ आइतबार
usa-flag.jpg

काठमाडौँ। सुडानको सेनाले रक्तपातपूर्ण गृहयुद्धमा रासायनिक हतियार प्रयोग गरेको आरोपमा अमेरिकाले सुडान सरकारमाथि प्रतिबन्धहरू लागू भएको घोषणा गरेको छ। अमेरिकी सरकारले शुक्रबार फेडरल रजिस्टरमा प्रकाशित सूचनामार्फत अमेरिकी निर्यात, हतियार बिक्री र खार्तुम सरकारलाई दिइने आर्थिक सहायतामा लगाइएका प्रतिबन्धहरू कम्तीमा एक वर्षका लागि कायम रहने जनाएको छ।

प्रतिबन्धअन्तर्गत सुडानलाई अत्यावश्यक मानवीय सहायता, खाद्यान्न वा अन्य कृषिजन्य वस्तु तथा उत्पादनबाहेक अन्य सहायता बन्द गरिने अमेरिकाले जनाएको छ। यद्यपि, केही सुविधाहरूमा आंशिक रूपमा माफी गरिनेछ किनभने 'संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा हितका लागि यो आवश्यक छ' भनी विज्ञप्तिमा उल्लेख छ।

अमेरिकी विदेश मन्त्रालयले गत महिना नै यी प्रतिबन्धहरूको घोषणा गर्दै रासायनिक हतियारको प्रयोग अन्तर्राष्ट्रिय सन्धिद्वारा निषेध गरिएको र सुडान सरकारलाई सबै रासायनिक हतियारको प्रयोग रोक्न तथा रासायनिक हतियार कन्भेन्सनअन्तर्गतका दायित्वहरू पालना गर्न आग्रह गरेको थियो।

न्युयोर्क टाइम्सले जनवरीमा सुडानको सेनाले अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेज (आरएसएफ) सँगको युद्धमा दुर्गम क्षेत्रमा कम्तीमा दुई पटक रासायनिक हतियार प्रयोग गरेको उल्लेख गरेको थियो। नाम नखुलाइएका अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै पत्रिकाले उक्त हतियार क्लोरिन ग्याँसजस्तो देखिएको र यसले श्वासप्रश्वासमा गम्भीर समस्या भई मृत्युको कारण बन्न सक्ने बताएको थियो।

खार्तुमले भने रासायनिक हतियार प्रयोग गरेको आरोपको खण्डन गर्दै आएको छ।

व्यावहारिक रूपमा सुडानका सैन्य प्रमुख अब्देल फतह अल बुरहान र आरएसएफका नेता तथा उनका प्रतिद्वन्द्वी मोहम्मद हमदान डग्लो दुवै अमेरिकी प्रतिबन्धको चपेटामा परिसकेकाले यसको प्रभाव सीमित हुने विश्लेषण गरिएको छ।

सन् २०२३ को अप्रिलमा सेना र आरएसएफबीचको शक्ति सङ्घर्षपूर्ण युद्धमा परिणत भयो, जसको विनाशकारी परिणाम पहिले नै गरिब मुलुक रहेको सुडानका लागि अभिशाप बनेको छ। यस द्वन्द्वका कारण दशौँ हजार मानिसको मृत्यु भएको छ भने १ करोड ३० लाख विस्थापित भएका छन्। संयुक्त राष्ट्रसङ्घले सुडान युद्धलाई विश्वकै सबैभन्दा खराबमध्येको एक मानवीय सङ्कट को रूपमा व्याख्या गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ