arrow

नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध: दुम्कीवास क्षेत्रका वैकल्पिक मार्गहरूमा बाढी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १५ आइतबार
dumkibas-divertion-road.jpg

मध्यविन्दु (नवलपरासी)। बुटवल-नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कीवास क्षेत्रमा पर्ने वैकल्पिक मार्गहरूमा बाढी आएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक यादव ढकालले दिएको जानकारीअनुसार, विनयी त्रिवेणी गाउँपालिका-१ स्थित विनयी खोलामा मालबाहक सवारीसाधनका लागि सञ्चालन गरिएको डाइभर्सन र साना तथा यात्रुबाहक बसका लागि प्रयोग गरिएको वैकल्पिक भित्री सडक दुवैमा बाढी आएका कारण अहिले यातायात पूर्णरूपमा बन्द भएको छ।

प्रहरी उपरीक्षक ढकालले भने, “अहिले यस सडक खण्डको डाइभर्सन र वैकल्पिक मार्ग होङ्सी गेट, सर्दी हुँदै ज्यामिरे राजमार्गमा सवारी आवागमन रोकेर सवारीसाधनलाई सुरक्षित स्थानमा राखिएको छ।” उनका अनुसार, निरन्तरको वर्षाका कारण विनयी त्रिवेणी–३ स्थित खरङ्गे खोलामा पनि पानीको बहाव बढेपछि उक्त वैकल्पिक मार्ग पनि पूर्णरूपमा अवरुद्ध बनेको हो। "अहिले यस सडक क्षेत्रको दाउन्ने दुम्कीवास खण्डमा कुनै पनि सवारीसाधन आवतजावत गर्न नसक्ने स्थिति सिर्जना भएको छ," उनले थपे।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत विनयी खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन पानीको बहाव बढेपछि पटकपटक बगाउँदै आएको छ, जसले गर्दा यस क्षेत्रमा यातायात आवागमनमा बारम्बार समस्या आउने गरेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ