पहिरोले गुल्मीको रिडी-वामीटक्सार सडक अवरुद्ध, यात्रु अलपत्र
हाम्रा कुरा
प्रकाशित २०८२ असार १६ सोमबार
641
Shares
गुल्मी। गएराति परेको अविरल वर्षाका कारण पहिरो खस्दा गुल्मीको रिडी–वामीटक्सार सडकमा आवागमन पूर्णरूपमा रोकिएको छ। यो सडक खण्डअन्तर्गत चन्द्रकोट गाउँपालिका–८ र मुसिकोट नगरपालिका–५ को सिमाना नजिकै तल्लो फाँटमा आज बिहान पहिरो खसेको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार, सडक अवरुद्ध बनेपछि आवागमन खुलाउन स्थानीय मजुवा प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक शिवधनप्रसाद कठरियाको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ। अहिले पहिरो पन्छाउने काम भइरहेको उनले बताए।
सडक अवरुद्ध हुँदा वामीटक्सारबाट रिडी हुँदै पाल्पा र बुटवलसम्म जाने सवारी साधनहरू बीच बाटोमा रोकिएका छन्। यो सडक जिल्लाको सबैभन्दा धेरै सवारी साधन सञ्चालन हुने प्रमुख मार्गहरूमध्ये एक हो।