बँदेल धपाउन थापिएको करेन्ट पासोमै गयो श्रीमतीको ज्यान
हाम्रा कुरा
प्रकाशित २०८३ असार १७ बुधबार
151
Shares
गुल्मी । गुल्मीमा जङ्गली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा परेर एक महिलाको मृत्यु भएको छ। घटनामा मृतकका श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीमकिरण बोगटीका अनुसार मृत्यु हुनेमा धुर्कोट गाउँपालिका-५ मन्टारी निवासी ६० वर्षीया हुमकला भण्डारी रहेकी छन्।
गएराति करिब १ः३० बजे करेन्ट लागेर गम्भीर घाइते भएकी भण्डारीलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास लगिएको थियो। अस्पताल पुर्याइएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार मृतकका श्रीमान् भेषराज भण्डारीले आफ्नै घरदेखि करिब १५० मिटर टाढा रहेको बारीमा बँदेल नियन्त्रण गर्ने उद्देश्यले बिजुलीको पोलबाट सिधै करेन्ट प्रवाह गरी विद्युतीय पासो थापेका थिए।
सोही पासोमा परेर हुमकलाको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले भेषराज भण्डारीलाई नियन्त्रणमा लिएको छ। घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का उठाउने तथा थप अनुसन्धानको काम भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।