arrow

‘कुलिङ पिरियड’ मा भएको चलखेल ‘अक्षम्य अपराध’ : शेखर कोइराला [भिडियो]

गल्ती होइन यो अपराध हो,संसदीय समितिबाट एउटा कुरा पास हुन्छ, त्यसपछि टोलमटोल गर्ने जसले गरेको भएपनि त्यो क्षम्य हुन सक्दैन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १७ मंगलबार
shekhar.jpg

काठमाडौँ। नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले ‘कुलिङ पिरियड’ सम्बन्धी विधेयकमा भएको शब्दको चलखेल ‘क्षम्य गर्न लायक नरहेको’ बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यो ‘गल्ती नभई अक्षम्य अपराध’ भएको टिप्पणी गरे।

डा. कोइरालाले अहिले राजनीति गर्ने नभई ‘गन्धा खेल’ खेल्ने काम भइरहेको बताए। उनले संसदको समितिबाट सर्वसम्मत पास भएको विषय संसदमा आउँदा हेरफेर हुनुलाई गम्भीर रूपमा लिएका छन्। "संसदको समितिबाट सर्वसम्मतबाट पास हुन्छ। संसदमा आउँदा त्यहाँ हेरफेर हुन्छ। त्यो त सरासर भन्नुपर्दा आपराधिक काम हो," उनले भने, "जो पनि दोषी हुन्, तिनीहरूलाई कुनै पनि हालतले क्षम्य गर्न हुँदैन।"

उनले यो कार्यले देशलाई गलत दिशामा लैजाने र आफूहरूले निष्ठावान राजनीति नगरेको पनि स्वीकार गरे। "गल्ती होइन यो अपराध हो। संसदीय समितिबाट एउटा कुरा पास हुन्छ, त्यसपछि टोलमटोल गर्ने। जसले गरेको भएपनि त्यो क्षम्य हुन सक्दैन," कोइरालाले जोड दिए।

कर्मचारीले अवकाश वा राजीनामा दिएको दुई वर्षसम्म संवैधानिक, कूटनीतिक वा सरकारले गर्ने अन्य कुनै नियुक्ति खान नपाउने गरी कानुनमै व्यवस्था गर्न राज्य व्यवस्था समितिमा सर्वसम्मति भएको थियो। तर, प्रतिनिधिसभाबाट पास गर्ने समयमा उक्त विधेयकमा घुसाएर नियुक्ति खान पाउने गरी व्यवस्था गरिएको छ, जसको चौतर्फी आलोचना भइरहेको छ।

सांसद कोइरालाले राजनीति गर्ने क्रममा निष्ठावान हुन जरुरी रहेको बताए। उनले अहिले देशको राजनीतिक, सांस्कृतिक, धार्मिक र आर्थिक अवस्थालाई ठीक बनाउन राजनीति नै सबैको गुरु भएको भन्दै, नेपालका राजनीतिज्ञहरू नै ठीक नभएको बताए। राजनीति ठीक हुनु जरुरी रहेको उनको भनाइ थियो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ