शुबमनले राखे कीर्तिमान, बर्मिङ्घममा एक्लैले बनाए २६९ रन
हाम्रा कुरा
प्रकाशित २०८२ असार १९ बिहिबार
824
Shares
काठमाडौँ । इङ्गल्याण्ड विरुद्धको दोस्रो टेष्ट क्रिकेटमा भारत बलियो अवस्थामा रहेको छ । भारतले बर्मिङघममा बुधबारदेखि शुरु भएको खेलमा टस हारेर पहिले ब्याटिङ गर्दै ५८७ रनको विशाल स्कोर खडा गरेको छ ।
पहिलो दिनको समाप्तिसम्म ५ विकेटको क्षतिमा ३१० रन बनाएको भारतले दोस्रो दिन थप २७७ रन जोडेर १५१ ओभरमा अलआउट भएको हो ।
कप्तान शुबमन गिलले २६९ रन बनाए । उनले ३८७ बलमा ३ छक्का र ३० चौकाको मद्धतले उक्त योगफल बनाएका हुन् ।
शुबमन इङ्गल्याण्डको भूमिमा सबैभन्दा बढी रन बनाउने भारतीय खेलाडी बनेका छन् । यसअघि भारतका सुनील गबास्करले सन् १९७९ मा सर्वाधिक २२१ रन बनाएका थिए ।
त्यस्तै गिल आफू टेष्ट क्रिकेटको कप्तान भएपछि लगातार दोस्रो खेलमा दुई शतक बनाएका छन् । उनले टेष्टमा सात शतक बनाएका छन् ।
गिल कप्तानका रूपमा एकै इनिङ्समा सबैभन्दा बढी रन बनाउने खेलाडी पनि बनेका छन् । यसअघि सन् २०१९ मा विराट कोहलीले कप्तान हुँदा दक्षिण अफ्रिकाविरुद्ध पुणेको मैदानमा अविजित रहँदै २५४ रन बनाएका थिए ।
भारतको योगफलमा रविन्द्र जडेजाको ८९, यशस्वि जैसवालको ८७ तथा वाशिंगटन सुन्दरको ४२ रन पनि महत्वपूर्ण रह्यो ।
यो खेलमा ऋषभ पन्त भने २५ रन बनाएर आउट भए । पहिलो खेलका दुवै इनिङ्समा पन्तले शतक लगाएका थिए ।
उक्त खेल भारतले हारेको थियो । बर्मिङघमको यो मैदामा भारत अहिलेसम्म विजयी भएको छैन । तर अब भारतीय बलरहरु चम्केका खण्डमा इङ्गल्याण्डले फलोअन जोगाउन मुस्किल हुनेछ ।
जवाफमा इङ्गल्याण्डले दोस्रो दिनको समाप्तिसम्म ३ विकेट गुमाएर ७७ रन बनाएको छ । आकाश दीपले २ तथा मोहम्मद सिराजले १ विकेट लिएका छन् ।
इङ्गल्याण्डले २५ रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो । आज तेस्रो दिन ह्यारि ब्रकु ३० तथा जो रुट १८ रनबाट अगाडि खेल्नेछन् ।