भुम्रे–हातेमालोचोक सडक पहिरोले अवरुद्ध, यात्रु अलपत्र
हाम्रा कुरा
प्रकाशित २०८२ असार २५ बुधबार
737
Shares
स्याङ्जा। स्याङ्जा र दक्षिण पर्वतलाई जोड्ने भुम्रे–हातेमालोचोक सडक पहिरोका कारण अवरुद्ध भएको छ। गए रातिदेखि परेको वर्षाका कारण स्याङ्जाको वालिङ नगरपालिका–१४ डुम्रेभञ्ज्याङ नजिकै सडकमाथिबाट ढुङ्गासहित पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो।
वालिङ १४ का वडाध्यक्ष बोधराज कुँवर (राजु) ले पहिरोका कारण उक्त सडक भएर यात्रा गर्ने यात्रुहरू अलपत्र परेको जानकारी दिएका छन्। वर्षा भइरहेकाले र सडकमाथिबाट ढुङ्गासहितको पहिरो खस्ने क्रम निरन्तर भइरहेकाले सडक खुलाउनका लागि डोजर मगाइएको उनले बताए।
सडक खुलाउन केही समय लाग्ने भएकाले तत्कालका लागि डुम्रेभञ्ज्याङ–ढिकीडाँडा–तमादी सडकलाई विकल्पका रूपमा प्रयोग गर्न वडाध्यक्ष कुँवरले सुझाव दिएका छन्। भुम्रे–हातेमालोचोक सडकको यस ठाउँमा विशेष गरी वर्षाको समयमा पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ।
दक्षिण पर्वतलाई सिद्धार्थ राजमार्गसँग जोड्ने यो सडकमा दैनिक सयौँ यात्रुवाहक तथा मालवाहक सवारीसाधन सञ्चालन हुने गर्छन्।