रसुवा । रसुवा जिल्लास्थित नेपाल–चीन सीमानामा रहेको ल्हेन्देखोलामा यही असार २४ गते आएको बाढीमा थुप्रै सवारीसाधन बगेका छन् । बाढीले बगाएकामा व्यवसायीले चीनबाट ल्याएका नयाँ ईभी बढी छन् ।
भन्सार जाँचपास गर्न बाँकी गाडीहरु भन्सार यार्डमा राखिएका थिए। एक्कासी ठूलो बाढी आउँदा ती गाडी बगेका हुन्। नबगेका गाडी पनि हिलोमा डुबेका छन्।
बाढीमा हराएकामध्ये ८ वटा ईभी गाडी फेला परेका उद्धारमा खटिएका सुरक्षाकर्मीले बताएका छन् । टिमुरे भन्सार क्षेत्रमा बचेका ईभी गाडी पनि बिजोग अवस्थामा छन् ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले रसुवामा आएको बाढीले अटोमोबाइल आयात प्रणालीमा गहिरो असर परेको जनाएको छ।
अध्यक्ष करण चौधरीले विज्ञप्ति जारी गर्दै जनधनको ठूलो क्षति भएको भन्दै दुःख व्यक्त गरेका छन् । ‘हालै रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिले केवल मानवीय जनजीवन मात्र नभई मुलुकको प्रमुख व्यापारिक नाका—केरुङ ररसुवागढी—मार्फत हुने अटोमोबाइल आयात प्रणालीमा गहिरो असर पुर्याएको छ। यसले भन्सार परिसरमा रहेका निर्माणाधिन सुख्खा बन्दरगाह, पार्किङमा रहेका कन्टेनरहरुसमेत बगाएको छ। यस कठिन घडीमा हामी सम्पूर्ण पीडितहरूप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छौं,’ उनले भनेका छन् ।