arrow

कांग्रेसको 'कोर भ्याल्युज' मा एमालेको आक्रमण : शेखर कोइराला [भिडियो]

भूमि विधेयक र संवैधानिक परिषद्माथि प्रश्न

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ६ मंगलबार
shekhar-ss.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले नेकपा एमालेले कांग्रेसको 'कोर भ्याल्युज' (मूलभूत मूल्यमान्यता) मा आक्रमण गरिरहेको आरोप लगाएका छन्। बीपी स्मृति दिवसमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारमा एउटै पार्टीको नेतृत्व नहुने अवस्थामा मिलेर सरकार बनाउनु राम्रो भए पनि कांग्रेसले आफ्नो महत्त्व बिर्सिन नहुने बताए।

डा. कोइरालाले अहिले कांग्रेसको महत्त्वमाथि कम्युनिष्टहरूले आक्रमण गरिरहेको दाबी गरे। विशेषगरी, 'कुलिङ अफ पिरियड' को विषयमा कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुलिङ पिरियड हटाउने वा ढिलो गर्ने कुरा स्वीकार्य हुन नसक्ने स्पष्ट पार्नुपर्ने उनको भनाइ थियो। उनले सच्याउने नाममा राष्ट्रिय सभामा एमाले सांसदहरूले कुलिङ पिरियड हटाउनुपर्छ भनेर संशोधन हाल्नु नेपाली कांग्रेसको 'कोर भ्याल्युज' माथिको आक्रमण भएको बताए।

सांसद कोइरालाले भने, "हामी सरकारमा छौँ, ठीक छ, उपाय छैन। तर जसरी हाम्रो बेसिक कोर भ्याल्युजमा कम्युनिष्टहरूले, एमालेले आक्रमण गर्दा हामी बोलिरहेका छैनौँ। दुःख त्यहाँ लागिरहेको छ। हामीले बोल्यौँ कुलिङ अफ पिरियडमा? अहिले हामीले भन्नसक्नुपर्छ। सभापतिजीले प्रधानमन्त्रीलाई भन्न सक्नुपर्छ यो स्वीकार्य हुँदै फटाफट गर्नुस् भनेर।"

उनले आफ्नो पार्टी र नेताहरूको समेत गल्ती रहेको स्वीकार गर्दै भने, "गल्ती भएको छ, हामीबाट पनि भएको छ। नेपाली कांग्रेसका सांसदहरूको गल्ती छैन भनेर म भन्दिनँ, मेरो पनि गल्ती छ, किन हेरेनौँ त्यो। राज्य व्यवस्था समितिका साथीहरूको गल्ती छ। उनीहरूले किन हेरेर पठाएनन्। सभापतिको गल्ती छ, राज्य व्यवस्था समितिको सभापतिले किन हेरेर पठाएनन् उनको गल्ती छ। हस्ताक्षर गर्ने अनि नहेर्ने? अनि गल्ती भयो भन्ने। हाम्रो पनि गल्ती छ। तर सच्याउने नाममा राष्ट्रिय सभाले उल्टै एमालेका सांसदहरूले कुलिङ पिरियड हटाउनुपर्छ भनेर लेख्ने भनेको नेपाली कांग्रेसको कोर भ्याल्युजमा अट्याक गरेको हो कि होइन? यो कुरा हामीले बुझ्न जरुरी छ। जसरी सभापतिजीले टेक एण्ड पे र टेक अर पेमा अडान लिनुभएको थियो, त्यो अडान अहिले चाहिएको छ हामीलाई।"

सांसद कोइरालाले भूमि सम्बन्धी विधेयक पारित गर्न किन यति हतार भएको भन्दै प्रश्न गरे। उनले आजको भोलि नै किन पारित गर्नुपर्ने भन्दै भूमि विधेयकमाथि छलफल गर्न एमाले सांसदहरू डराइरहेको आरोप लगाए।

"भूमि सम्बन्धी विधेयक, के हतार छ? किन आजको भोलि नै पास गर्नुपर्यो। के कारण पर्यो। किन समितिमा छलफल गर्न डराइरहनुभएको छ, एमालेका मित्रहरू, सांसदहरू? त्यसको जवाफ नेपाली कांग्रेसका साथीहरूलाई चाहिन्छ। मन्त्रीजीहरू यहीँ हुनुहुन्छ, उहाँहरूले पनि भन्नुपर्यो। क्याबिनेटमा बोल्नुपर्यो। कहीँ न कहीँ त फरक छ भन्ने देखाउनुपर्छ।"

उनले संवैधानिक परिषद्मा जसरी राष्ट्रिय सभाले विधेयक पास गरेको छ, त्यो राष्ट्रपतिले छाप लगाएमा संविधानको भावना मर्ने चेतावनी दिए। "प्रधानमन्त्री र एकजना सदस्य बसेर जे पनि गर्नसक्ने भए। जोसुकै प्रधानमन्त्री हुन्। अहिले एमालेको प्रधानमन्त्री हुनुहुन्छ, तर भोलि हाम्रै प्रधानमन्त्री भएपनि यो कुरा गलत हुन्छ भन्ने कुरा हामीले भन्नसक्नुपर्छ। संविधानको स्पिरिट के हो भने संवैधानिक परिषद्मा जो व्यक्तिहरू हुनुहुन्छ, तिनीहरूले बेइमानी गर्दैनन्, छलफल गर्दछन्, मिलाउँछन्, कुरा गर्छन् अनि सबै सिनियर मान्छेहरूलाई ल्याउँछन् भनियो। के भयो बताउँ, प्रतिनिधि सभाले पास गर्यो, अप्पर हाउसले त्यसलाई परिमार्जन गरेर पठायो।"

सांसद कोइरालाले कांग्रेस चुपचाप लागेर बस्न नहुने र भ्रष्ट मन्त्रीहरू अहिले पनि सरकारमै रहेको आरोपसमेत लगाए।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ