तराई-मधेसमा खानेपानी र सिँचाइका लागि युद्धस्तरमा काम गरिनेछ: प्रधानमन्त्री ओली
मन्त्रिपरिषद्को आजकै बैठकबाट मधेश प्रदेशलाई प्राकृतिक विपद्ग्रस्त घोषणा गरिएको
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ७ बुधबार
1.9k
Shares
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले तराई-मधेसमा खानेपानी र सिँचाइको अभाव हुन नदिन युद्धस्तरमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिँदै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आजकै बैठकबाट मधेश प्रदेशलाई प्राकृतिक विपद्ग्रस्त घोषणा गरिएको जानकारी दिँदै सम्पूर्ण शक्ति लगाएर खानेपानी र सिँचाइ उपलब्ध गराउने बताए। उनले भने, “अहिले पहाडमा बाढीको प्रभाव छ भने तराई–मधेश सुख्खा समस्याले ग्रस्त छ। यी समस्या समाधानका लागि सरकारले आवश्यक कदमहरू चालेको छ।”
प्राकृतिक विपद्ग्रस्त घोषणापछि तराई-मधेशमा 'डिपबोरिङ' गर्न वा अन्य सामग्री उपलब्ध गराउन सहज हुने उनको भनाइ छ। उनले सरकार अल्पकालीन र दीर्घकालीन दुवै उपाय खोजेर समस्या समाधानमा लाग्ने र यससम्बन्धी गर्नुपर्ने काममा कुनै कसर बाँकी नराख्ने बताए।