त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न सकिने
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ८ बिहिबार
759
Shares
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि भएसँगै अब एकै पटक २९ वटा जहाज पार्किङ गर्न सकिने भएको छ। यसअघि अन्तर्राष्ट्रिय पार्किङ एप्रोनमा ११ वटा मात्रै विमान पार्किङ गर्न सकिन्थ्यो।
बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिबारे जानकारी गराउँदै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले यो जानकारी दिएका हुन्। उनका अनुसार, अब न्यारोबडी विमान राख्दा १८ वटा र वाइडबडी तथा न्यारोबडी मिलाएर राख्दा ६/६ वटासम्म विमान पार्किङ गर्न सकिनेछ।
अधिकारीका अनुसार, एप्रोन, रनवे र प्यारालल ट्याक्सीवेको काम लगभग सम्पन्न भइसकेको छ। अब टर्मिनल भवनको क्षमता वृद्धिमा ध्यान दिनु जरुरी रहेको उनले बताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको चाप अत्यधिक वृद्धि भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले गुरुयोजना अध्यावधिक गरी क्रमिक रूपमा क्षमता विस्तारको काम गरिरहेको छ। विमानस्थलमा १५ अर्ब रुपैयाँ लागतमा धावनमार्ग जोड्ने ट्याक्सी वे, समानान्तर ट्याक्सी वे, अन्तर्राष्ट्रिय एप्रोन, आन्तरिक एप्रोन, आन्तरिक वायुसेवाका लागि ह्यांगरलगायतका निर्माण कार्य जारी छन्।