दक्षिण एसियाको हवाई सुरक्षा संवादको केन्द्र बन्दै काठमाडौँ
हाम्रा कुरा
प्रकाशित २०८३ असार १० बुधबार
155
Shares
काठमाडौँ। युरोपेली सङ्घले नेपाल तथा दक्षिण एसियासँगको हवाई सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित काठमाडौँमा दुई महत्वपूर्ण क्षेत्रीय हवाई सुरक्षा कार्यक्रम सञ्चालन गरेको छ।
यी कार्यक्रमसँगै दक्षिण एसियामा हवाई सुरक्षासम्बन्धी संवाद, अनुभव आदानप्रदान र सहकार्यका लागि काठमाडौँ महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।
युरोपेली सङ्घ–दक्षिण एसिया हवाई साझेदारी परियोजनाअन्तर्गत आयोजित कार्यक्रमहरूमा दक्षिण एसियाका हवाई नियामक निकाय, वायुसेवा कम्पनी, उद्योग क्षेत्रका प्रतिनिधि तथा प्राविधिक विज्ञहरू सहभागी छन्।
कार्यक्रममार्फत अनुभव आदानप्रदान, व्यावसायिक सञ्जाल विस्तार तथा हवाई सुरक्षासम्बन्धी व्यावहारिक उपायबारे छलफल भइरहेको जनाइएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको आयोजना तथा एटीआरसँगको सहकार्यमा मंगलबारदेखि सुरु भएको क्षेत्रीय हवाई सुरक्षा कार्यक्रमको तेस्रो चरण असार ९ देखि ११ गतेसम्म सञ्चालन हुनेछ।
कार्यक्रममा चालक दलको तालिम, सञ्चालन मापदण्ड, उडान सञ्चालनका मानवीय तथा प्रक्रियागत पक्ष, निर्णय प्रक्रिया, सञ्चालनगत लचकता तथा थकान व्यवस्थापनजस्ता विषयमा केन्द्रित छलफल हुने बताइएको छ।
नेपालस्थित युरोपेली सङ्घीय नियोगका कार्यवाहक प्रमुख थोमस मिलारले हवाई सुरक्षा नेपाल सरकारको प्रमुख प्राथमिकतामध्ये एक रहेको उल्लेख गर्दै अर्थमन्त्रीले हालैको बजेट वक्तव्यमा युरोपेली आयोगका चासो सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको विषयलाई सकारात्मक रूपमा लिइएको बताए।
उनले सुधारात्मक कार्ययोजनासम्बन्धी पूर्ण दस्तावेज प्राप्त भइसकेको र युरोपेली आयोगअन्तर्गतको सम्बन्धित महानिर्देशनालयले आगामी महिनामा त्यसको समीक्षा गर्ने जानकारी दिए।
मिलारले नेपाली नागरिक र यात्रुले अपेक्षा गरेको सुरक्षा स्तर हासिल गर्न नेपाल सरकारसँग मिलेर काम गर्न युरोपेली सङ्घ तथा उसका सदस्य राष्ट्रहरू प्रतिबद्ध रहेको बताए।
सदस्य राष्ट्रहरूले प्राविधिक सहयोग उपलब्ध गराउँदै सरोकारवालासँग निकट सहकार्यमार्फत प्रगतिलाई समर्थन गरिरहेको उनको भनाइ छ।
यसैबीच, असार १५ देखि १८ गतेसम्म काठमाडौँमा दक्षिण एसिया क्षेत्रीय पहलअन्तर्गत उडानयोग्यता निरन्तरता सम्बन्धी नियामकीय अद्यावधिक कार्यशाला आयोजना हुने भएको छ।
कार्यशालामा युरोपेली हवाई सुरक्षा निकायका नवीनतम नियमावली तथा आधुनिक अनुगमन अवधारणाबारे छलफल गरिनेछ। यसले अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकसित हुँदै गइरहेका आवश्यकताहरू कार्यान्वयन गर्न सम्बन्धित निकाय तथा उद्योग क्षेत्रलाई सहयोग पुग्ने विश्वास गरिएको छ।
युरोपेली सङ्घको राजदूतावासका अनुसार यी कार्यक्रमहरूले प्राविधिक अनुभव आदानप्रदानको सीमित दायराभन्दा माथि उठेर क्षेत्रीय सहकार्यलाई व्यवस्थित, व्यावहारिक र दीर्घकालीन स्वरूप दिन मद्दत गर्नेछन्।
साथै, दक्षिण एसियामा हवाई क्षेत्रसम्बन्धी संवादका लागि नेपाललाई महत्वपूर्ण मञ्चका रूपमा स्थापित गर्न युरोपेली सङ्घ प्रतिबद्ध रहेको जनाइएको छ।
हवाई सुरक्षाको सुदृढ प्रणालीले क्षेत्रीय सम्पर्क विस्तार, पर्यटन प्रवर्द्धन तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै युरोपेली सङ्घले नियामक निकाय, सेवा प्रदायक र उद्योग क्षेत्रबीचको सहकार्यलाई प्रोत्साहन गर्दै सुरक्षित, सबल र भविष्यउन्मुख हवाई यातायात प्रणाली निर्माणमा सहयोग गरिरहेको जनाएको छ।
युरोपेली सङ्घ-दक्षिण एसिया हवाई साझेदारी परियोजना युरोपेली सङ्घद्वारा वित्तपोषित तथा युरोपेली हवाई सुरक्षा निकायद्वारा कार्यान्वयन गरिएको क्षेत्रीय प्राविधिक सहकार्य कार्यक्रम हो।
यस परियोजनाले दक्षिण एसियाका नागरिक उड्डयन निकाय तथा हवाई क्षेत्रका सरोकारवालालाई नियामकीय संवाद, प्राविधिक अनुभव आदानप्रदान र क्षमता अभिवृद्धिमार्फत सहयोग गर्दै अन्तर्राष्ट्रिय मापदण्डअनुरूप उच्चस्तरीय हवाई सुरक्षा र प्रभावकारी नियमन प्रवर्द्धन गर्दै आएको छ।रासस