खानेपानी र सिँचाइ समस्याको पहिचान गर्न गृहमन्त्रीको प्रजिअहरूलाई निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ११ आइतबार
474
Shares
काठमाडौं । गृहमन्त्री रमेश लेखकले खानेपानी र सिँचाइको समस्या भएका स्थानहरूको पहिचान गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन्। सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन्।
तराईका विभिन्न जिल्लाहरूमा खानेपानी र सिँचाइको समस्या विकराल बनिरहेको सन्दर्भमा गृहमन्त्री लेखकले तराईका जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्थानीय प्रतिनिधिहरूसँग छलफल गरेका थिए। छलफलपछि उनले समस्याग्रस्त स्थानहरू पहिचान गर्न र पहिचान भइसकेका स्थानहरूको विवरण सरकारलाई उपलब्ध गराउन निर्देशन दिए।
गृहमन्त्री लेखकले ती स्थानहरूको पहिचान गरी वैकल्पिक स्रोत र वैकल्पिक स्रोतहरूको वैज्ञानिक वितरणको व्यवस्था मिलाउन पनि निर्देशन दिए। उनले कुन-कुन ठाउँमा डिप बोरिङ गर्ने भन्ने स्थानहरू पनि पहिचान गर्न र आवश्यकतालाई प्राथमिकीकरण गरी छिटो प्रक्रियाबाट डिप बोरिङ ट्युबेल जडान गर्ने कुरामा ध्यान दिन आग्रह गरे।
"पहिलो कुरा खानेपानी र सिँचाइको समस्या भएको स्थानहरूको पहिचान गर्नुपर्यो," गृहमन्त्री लेखकले भने, "कतिपयको तपाईंहरूले पहिचान गरिसक्नुभएको छ होला। चापाकलहरू सुकेको, बोरिङहरू सुकेको, ट्युबेलहरू सुकेको कुरा, डीप ट्युबेलहरू सुकेको कुरा पनि आइसकेको छ। नदीहरू सुकेको कुरा पनि राख्नुभएको छ। खानेपानी र सिँचाइको समस्या भएको ठाउँको पहिचान गर्नुपर्यो।" उनले अहिलेसम्म पहिचान भएका र थप पहिचान गर्नुपर्ने स्थानहरूको विवरण राख्न पनि जोड दिए।
गृहमन्त्री लेखकले स्मरण गराउँदै भने, "हिजो मात्रै सम्माननीय प्रधानमन्त्रीज्यूले बोरिङ गर्ने भनेर घोषणा गर्नुभएको छ। कुन-कुन ठाउँमा गर्ने त्यो ठाउँको पहिचान गर्नुपर्छ। आवश्यकतालाई प्राथमिकीकरण गर्नुपर्छ। छिटो प्रक्रियाबाट डिप बोरिङ ट्युबेल जडान गर्ने कुरामा ध्यान दिनुहोला।"
उल्लेखनीय छ, प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार महोत्तरीको एक कार्यक्रममा ५०० वटा डिप बोरिङ गरेर मधेश प्रदेशमा पानीको समस्या तत्कालका लागि समाधान गर्ने घोषणा गरेका थिए।