arrow

रामेछापका मुख्य सडक हिलाम्मे, निर्माण व्यवसायीको ढिलासुस्तीले स्थानीय आक्रोशित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १२ सोमबार
road-ramechhap.jpg

मन्थली (रामेछाप) । रामेछाप जिल्लाका मुख्य सडकहरू निर्माण व्यवसायीको ढिलासुस्तीका कारण हिलाम्मे बनेका छन्। ग्रामीण कच्ची सडकहरू ठाउँठाउँमा भासिने र पहिरो जाने समस्याले गर्दा सवारी साधन गुडाउनै नसकिने अवस्थामा पुगेका छन्।

जिल्ला पूर्वाधार कार्यालयमार्फत निर्माण भइरहेका महत्वपूर्ण सडकहरू जस्तै मन्थली–पकरबास–गोगनपानी–गाल्वा सडक, सित्खा–गोगनपानी–धुलेबेसी–भोटनागी सडक र खिम्ती–रस्नालु–ठोसे सडकलगायतका पक्की पुल निर्माणमा समेत ढिलासुस्ती भएको छ।

सित्खा–गोगनपानी–धुलेबेसी–भोटनागी सडक गत असोजमै कालोपत्रे गरिसक्नुपर्नेमा हालसम्म सम्पन्न भएको छैन। निर्माण व्यवसायीले समयमा काम नगरेपछि स्थानीयले जिल्ला पूर्वाधार विकास कार्यालयमा तालाबन्दी समेत गरेका थिए। मन्थली नगरपालिका–१ का स्थानीय पाण्डव सुवेदीले निर्माण व्यवसायी र कार्यालयले तोकिएको समयमा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि त्यो पूरा नभएको बताए।

त्यसैगरी, मन्थली–पकरबास–गोगनपानी–गाल्वा सडकअन्तर्गत पकरबास–गाल्वा सडक कालोपत्रे गर्ने अन्तिम म्याद गत वर्षको असार मसान्तसम्म थियो। म्याद सकिएको एक वर्ष बितिसक्दा पनि कालोपत्रे नभएपछि ठाउँठाउँमा हिलोले सवारी साधन आवागमनमा समस्या भइरहेको छ।

पकरबास–गोगनपानी–गाल्वा सडकको १० किलोमिटर कालोपत्रे गर्ने जिम्मा अर्याल ब्रदर्श र दिवा भुवनेश्वरी जेभीले ४३ करोड रुपैयाँमा लिएको थियो। यस्तै, ७.५ किलोमिटरको गोगनपानी–धुलेबेसी–भोटनागी सडक निर्माणको जिम्मा १७ करोड रुपैयाँमा गरिमा रौताहा सगुन र पाँच पोखरी कन्सट्रक्सनले लिएको थियो। १८ महिनामा पूरा गर्ने गरी ठेक्का लागेको काम चार वर्षमा पनि सम्पन्न नहुँदा जिल्ला प्राविधिक कार्यालयले कुनै चासो नदेखाएको खाँडादेवी गाँउपालिका–४ का अध्यक्ष कृष्णप्रसाद पौडेलले राष्ट्रिय समाचार समितिलाई बताए।

सोही कार्यालयमार्फत निर्माण भइरहेको खिम्ती–रस्नालु–ठोसे सडक पनि लथालिङ्ग अवस्थामा छ। यो सडकमा जिल्लाको उत्तरी क्षेत्र जाने सवारी साधन घण्टौँसम्म हिलोमा फस्ने गरेका छन्। गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्काले निर्धारित समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायी र त्यसको अनुगमन गर्ने पूर्वाधार विकास कार्यालय प्रमुखलाई कारबाहीको माग गरेका छन्।

जिल्ला पूर्वाधार विकास कार्यालयका प्रमुख ज्ञानेन्द्रप्रसाद पुनले भने निर्धारित समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई आफूले सचेत गराएको र पटक–पटक आग्रह गर्दा पनि नमानेमा ठेक्का सम्झौता तोडिने बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ