arrow

कोलिफार्म भेटिएपछि भक्तपुरमा पानी उद्योगमाथि कडा कारबाही, पाँच उद्योगमा तालाबन्दी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १२ सोमबार
miniral-water-jar-2081.jpg

भक्तपुर। पिउने पानीमा हानिकारक ब्याक्टेरिया 'कोलिफार्म' भेटिएपछि भक्तपुरमा पानी उद्योगहरूको अनुगमन तीव्र पारिएको छ। यसै क्रममा चाँगुनारायण नगरपालिका–३ झौखेलमा सञ्चालित पाँचवटा पानी उद्योगमा तालाबन्दी गरिएको छ। बिक्री वितरणमा प्रतिबन्ध लगाइएका ती उद्योगहरूले अटेर गरी पानी बिक्री गरेको पाइएपछि नगरपालिकाले यो कदम चालेको हो।

चाँगुनारायण नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक रमेश बुढाथोकीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, नगरपालिकाको टोली, उपभोक्ता मञ्च, उद्योग वाणिज्य सङ्घलगायतका प्रतिनिधिको संयुक्त टोलीले आज अनुगमन गरी ती उद्योगमा तालाबन्दी गरेको हो।

अनुगमन टोलीले अक्वा कर्णाली खानेपानी उद्योग, जय छुमा गणेश खानेपानी उद्योग, ओके मिनिरल वाटर प्रालि, झौखेल खानेपानी उच्च वेभरेज प्रालि, एसएन टप वेभरेज प्रालि, ओके मिनिरल वाटर खानेपानी उद्योग र झौखेल खानेपानी उद्योगमा तालाबन्दी गरेको छ।

उपप्रमुख बुढाथोकीका अनुसार, पिउन योग्य छ भनी ल्याब परीक्षणको 'रिपोर्ट' नआएसम्म बिक्रीमा रोक लगाइएका यी कम्पनीहरूले अटेर गर्दै पानी बिक्री गरेको र अरू कम्पनीको 'स्टिकर' टाँसेर समेत पानी बिक्री गर्दै आएको पाइएको थियो।

यसअघिको परीक्षणमा चाँगुनारायण नगरपालिका–३ झौखेलमा सञ्चालनमा रहेका केही खानेपानी उद्योगले बिक्री–वितरण गर्दै आएको खानेपानीमा मानवीय स्वास्थ्यका लागि हानिकारक इकोली, कोलिफार्म, एमोनिया लगायतका तत्वहरू भेटिएका थिए।

अनुगमन टोलीले भक्तपुर नेचुरल ड्रिङ्किङ वाटर प्रालि, इच्छा कामना वेभरेज प्रालि, हेरिटेज वेभरेज प्रालि लगायतका उद्योगहरूको पनि अनुगमन गरी पानीको गुणस्तर जाँचका लागि नमूना सङ्कलन गरेको छ। साथै, स्थानीय तहमा दर्ता तथा नवीकरण नगरेका पानी उद्योगहरूलाई एक साताभित्र दर्ता एवं नवीकरण गर्न निर्देशन दिइएको उपप्रमुख बुढाथोकीले बताए। झौखेलमा २२ पानी उद्योग मात्र स्थानीय नगरपालिकामा दर्ता भएको पाइएको छ भने अन्य धेरैले दर्ता तथा नवीकरण नगरेकाले सबैलाई निर्देशन दिइएको हो।

उपप्रमुख बुढाथोकीले पानी उद्योग बन्द गर्ने कुनै नियत नभएको तर भक्तपुरलगायत काठमाडौँ उपत्यकामा उद्योगले शुद्ध पानी मात्रै बिक्री गरून् भन्ने उद्देश्यले अनुगमन गरिएको स्पष्ट पारे। चाँगुनारायण नगरपालिकाको ल्याबमा पानी परीक्षण गरी बिहीबारसम्म आउने रिपोर्टमा पुनः कोलिफार्म भेटिए तालाबन्दी कायम रहने र शुद्ध भेटिए बिक्री गर्न अनुमति दिइने उनले बताए।

नगरपालिकाको निर्देशनको अवज्ञा गर्ने उद्योगहरूलाई नियमानुसार कानुनी कारबाही गरिने पनि जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ