arrow

दिसामा पाइने कीटाणु भेटिएपछि तालाबन्दी गरिएका भक्तपुरका पानी उद्योगहरू पुनः सञ्चालनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १३ मंगलबार
jar-water.jpg

भक्तपुर। भक्तपुरको झौखेल क्षेत्रमा प्रदूषित पानी बिक्री गरेको पाइएपछि तालाबन्दी गरिएका केही खानेपानी उद्योगहरू आजदेखि सञ्चालनमा आएका छन्। बजारमा बिक्री हुँदै आएको पानीमा दिसामा हुने कीटाणु 'कोलिफार्म' भेटिएपछि चाँगुनारायण नगरपालिकाले बिक्री वितरणमा प्रतिबन्ध लगाउँदै नगरपालिका–३ झौखेलमा सञ्चालित पाँचवटा पानी उद्योगमा तालाबन्दी गरेको थियो।

नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजक रमेश बुढाथोकीले प्रदूषित पानी बिक्री गरेका ती उद्योगहरूलाई बिक्री वितरणमा प्रतिबन्ध लगाउँदै तालाबन्दी गरिएकामा सम्पूर्ण रूपमा शुद्धता सुनिश्चित गरिएपछि आजदेखि सञ्चालन गर्न अनुमति दिइएको बताए।

स्थानीय स्तरबाट पानी प्रदूषित रहेको गुनासो आएपछि यही साउन ९ र ११ गते उपप्रमुख बुढाथोकीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, प्रहरी, प्राविधिक, उपभोक्ता मञ्च, उद्योग वाणिज्य सङ्घ लगायतको टोलीले उद्योगहरूको अनुगमन गरी नमूना सङ्कलन गरेको थियो। नमूना परीक्षणपछि कोलिफार्म भेटिएको थियो, जस लगत्तै नगरपालिकाले ती उद्योगबाट पानी बिक्री वितरणमा प्रतिबन्ध लगाएको थियो।

तालाबन्दी गरिएका उद्योगहरूमा अक्वा कर्णाली खानेपानी, जय छुमा गणेश खानेपानी, ओके मिनिरल वाटर प्रालि, झौखेल खानेपानी उच्च वेभरेज प्रालि, र एसएन टप वेभरेज प्रालि रहेका छन्।

नगर उपप्रमुख बुढाथोकीले भने, "हामीले पानीको पुनः परीक्षण गर्‍यौँ, आज आएको रिपोर्टमा पानी शुद्धीकरण गरेको पाइयो, त्यसैले सञ्चालनका लागि अनुमति दिएका हौँ। फेरि यस्तो भेटिए कानुनअनुसार कारबाही गर्नेछौँ।" उनले सबै पानी उद्योगलाई नगरपालिकामा दर्ता एवं नवीकरण गर्न र शुद्धतामा विशेष ध्यान दिन आग्रह गरिएको पनि बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ