संरक्षणको अभावमा नेपालका सुन्दर क्षेत्रहरू ओझेलमा परे : पूर्वराष्ट्रपति यादव
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १७ शनिबार
693
Shares
काठमाडौँ ।नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपालमा स्विट्जरल्याण्डजस्ता धेरै सुन्दर ठाउँहरू भए पनि संरक्षणको अभावले ती ओझेलमा परेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित तारापति भट्टराई स्मृति प्रतिष्ठानको कार्यक्रममा बोल्दै उनले देशको सुन्दरता जोगाउनु जरुरी रहेको बताए।
पूर्वराष्ट्रपति यादवले आफ्नो जीवनकालमै चारकोशे झाडी र चुरे क्षेत्र मासिएको भन्दै चिन्ता व्यक्त गरे। उनले चुरेको अनियन्त्रित दोहनका कारण अहिले तराईका आठ जिल्लामा खानेपानीको हाहाकार भएको बताए। चुरेलाई 'जलको भण्डार' भन्दै उनले यसको संरक्षणमा जोड दिनुपर्ने बताए। यादवले भने, "जंगल छैन, चुरे पहाड खनेर लगेको छ। चुरे खनेर लगिदिएपछि प्लान्ट कहाँ लगाउने?"
उनले नेपालको संविधान धेरै राम्रो रहेको र यसलाई जोगाएर अगाडि बढ्नुपर्ने पनि बताए। उनले सबैले आफ्नो नैतिक आचरण निभाउँदै समाज र देश बनाउनेबारे सोच्नुपर्नेमा जोड दिए।