बाढीले भटौली खोलाको पुलमा क्षति, काठमाडौँ आउने वैकल्पिक मार्ग अवरुद्ध
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १८ आइतबार
756
Shares
काठमाडौँ। शुक्रबार राति आएको अविरल वर्षाका कारण भटौली खोलाको पक्की पुलमा क्षति पुगेपछि रामेछापको सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा, शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने तथा काठमाडौँ आजाने वैकल्पिक मार्ग अवरुद्ध भएको छ। बाढीले पुलको पकरबासपट्टिको किनार कटान गरेपछि ठूला सवारीसाधनको आवागमन रोकिएको हो।
मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ पकरबास जोड्ने यो पुलको एक भाग खोक्रो बनेको छ। अहिले दुई पाङ्ग्रे सवारीसाधन मात्रै चल्न सक्ने अवस्था छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बाटो खुलाउन नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरिएको बताए।
पुल जोखिममा परेको जानकारी पाएपछि प्रदेशसभा सदस्य आनन्द श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी थापा र सुरक्षा निकायका प्रमुखहरूको टोलीले स्थलगत अवलोकन गरी मर्मतका लागि निर्देशन दिएको थियो। स्थानीयवासीका अनुसार, खोलाले कटान सुरु गरे पनि सम्बन्धित निकायले बेवास्ता गरेकाले यो अवस्था आएको हो।
यो पुल रामेछापको तीन गाउँपालिकालाई सदरमुकामसँग जोड्ने एक प्रमुख मार्ग हो। गत वर्ष खुर्कोटको पुल बगाएपछि दोलखा, रामेछाप र ओखलढुङ्गाका धेरै सवारीसाधनहरूले यही बाटो प्रयोग गरेका थिए। हाल पनि भारी मालवाहक सवारीसाधनहरू यही बाटो भएर काठमाडौँ आवतजावत गर्ने गरेका थिए, जसको आवागमन अहिले पूर्ण रूपमा ठप्प भएको छ।