तीनकुने घटनामा विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित चार जनालाई धरौटीमा छाड्न आदेश
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १९ सोमबार
761
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । उच्च अदालत पाटनले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ । गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीहरुको हिंसात्मक प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएसँगै उनलाई आपराधिक उपद्रव, संगठित अपराधमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
काठमाडौँ जिल्ला अदालतले थुनामा राख्ने आदेश गरेपछि उनी उच्च अदालत पाटन पुगेका थिए । पाटन उच्च अदालतले सो चैत १५ को घटनामा उनको प्रत्यक्ष सम्बन्ध नदेखिएको भन्दै उनलाई तारिखमा छाड्न आदेश दिएको हो । त्यस्तै बैंकिङ कसूरको हकमा भने २५ लाख रुपैयाँ धरौटी वा बैंकले जमानत दिए तारिखमा छाड्न आदेश दिएको छ ।
उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले सो फैसला गरेको हो ।
तीनकुने घटनामा संलग्न रहेको आरोपमा अन्य तीन जनालाई पनि धरौटीमा छोड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
न्यायाधीशद्वय डिल्लीरत्न श्रेष्ठ र टंकप्रसाद गुरुङको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । सुशिल बराल र तारा राजवादी भन्ने सरोज गौतमलाई ५०–५० हजार रुपैयाँ तथा दण्डपाणी रेग्मीलाई १० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।