पोखरा । एनएमबी बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गण्डकी प्रदेशको मानवसेवा आश्रमलाई १,००० लिटरको सोलार साथै सोलार बत्तीहरु हस्तान्तरण गरेको छ ।
पोखरास्थित आश्रममा आयोजित एक कार्यक्रमबीच उक्त सोलार सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले दीप प्रज्ज्वलन गरी उक्त कार्यक्रमको उद्घाटन गरेका थिए ।
एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले कार्यक्रमको अध्यक्षता गरेका थिए । बैंकका संस्थापक शेयरधनीहरू राजेन्द्रकुमार बाटाजु, प्रा. डा. हरि पाठक, शालिकराम घिमिरे, विमलबहादुर कुँवर र ओमकुमार मुल्मीको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।
यस अवसरमा मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी मन्तव्य राखेका थिए ।
बैंकको तर्फबाट संस्थापक शेयरधनीहरू, प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत लगायतले एकमुष्ट रुपमा सोलार सामग्री हस्तान्तरण गरेका थिए ।
उक्त कार्यक्रममा एनएमबी बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय, मानवसेवा आश्रमकी महासचिव सुशीला के. सी. (रूपा), रिटेल तथा साना व्यवसाय प्रमुख गणेश पराजुली, एनएमबी बैंकका प्रदेश प्रमुख दुर्गाराम पुरीलगायत बैंकका अन्य कर्मचारी र मानवसेवा आश्रमका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।
एनएमबी बैंकले दिगो विकासलाई प्राथमिकता दिँदै यस वर्षको साउन महिनालाई 'ग्रिन मन्थ' को रूपमा मनाइरहेको जनाएको छ । सोही अभियानअन्तर्गत दिगो कार्यको एक हिस्साको रूपमा यो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम सम्पन्न भएको हो ।
बैंकले यस्तै किसिमका अन्य कार्यक्रमहरू पनि देशका अन्य प्रदेशहरूमा सञ्चालन गरिरहेको छ । एनएमबी बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटीएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।