नाउपा र जसपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ : मेटमणी चौधरी
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २१ बुधबार
2.1k
Shares
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल विश्वासको मत लिनुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संविधानको धारा १०० को उपधारा २ अनुसार सरकारलाई समर्थन दिएका दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बताए।
सांसद चौधरीले सरकारमा सहभागी रहेका नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनता समाजवादी पार्टी (जसपा) ले समर्थन फिर्ता लिएको उल्लेख गरे। उनले नाउपाले समर्थन फिर्ता लिएको आज ठीक एक महिना पुगेको बताए।
चौधरीले प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रमहरूमा आफूले विश्वासको मत लिनु नपर्ने भनी दिएका अभिव्यक्तिहरूलाई गैरकानुनी, असंवैधानिक र गैरजिम्मेवार भनेका छन्। उनले संविधानको पालना गर्ने व्यक्तिबाट यस्ता कुतर्क गरिनु दुखद भएको भन्दै आफ्नो पार्टीले यसको घोर भर्त्सना गर्ने बताए।
सांसद चौधरीले संवैधानिक व्यवस्थालाई मान्ने हो भने प्रधानमन्त्रीले तुरुन्तै संसदबाट विश्वासको मत लिनुपर्ने बताए। उनले यसअघि पनि बहुमतमा रहेको सरकारका प्रधानमन्त्रीले विश्वासको मत लिएको उदाहरण दिँदै प्रधानमन्त्रीलाई आफ्नो संवैधानिक जिम्मेवारी पूरा गर्न आग्रह गरे।