लागूऔषध तस्कर समूहहरूमाथि सैन्य कारबाहीको विकल्पबारे अमेरिकामा समीक्षा
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २५ आइतबार
1.4k
Shares
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याटिन अमेरिकी लागूऔषध तस्कर समूहहरूमाथि सम्भावित सैन्य कारबाहीको विकल्पबारे समीक्षा गरिरहेको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन्। केही महिनाअघि अमेरिकाले यस्ता समूहहरूलाई 'विदेशी आतङ्ककारी संगठन' घोषणा गरेपछि यो पहल अघि बढाइएको हो।
न्यूयोर्क टाइम्स र द वाल स्ट्रीट जर्नलका अनुसार, राष्ट्रपति ट्रम्पले पेन्टागनलाई ती समूहहरूविरुद्ध आवश्यक सैन्य विकल्पहरू, जसमा विशेष सैन्य बलहरूको प्रयोग र खुफिया सहयोगसमेत समावेश हुन सक्ने, तयार गर्न निर्देशन दिएका छन्। यद्यपि, ह्वाइट हाउसले यसको औपचारिक पुष्टि गरेको छैन। ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले भने, राष्ट्रपति ट्रम्पको प्रमुख प्राथमिकता राष्ट्रिय सुरक्षा रहेको र त्यसैकारण यस्ता समूहहरूलाई आतङ्ककारी संगठन घोषणा गरिएको बताएकी छन्।
अमेरिकाले गत फेब्रुअरीमा भेनेजुएलाको ट्रेन दे अरागुवा, मेक्सिकोको सिनालोआ कार्टेल लगायत आठवटा लागूऔषध तस्कर समूहहरूलाई विदेशी आतङ्ककारी समूहको सूचीमा राखेको थियो। हालै थप गरिएको कार्टेल अफ द सनस नामक समूहमाथि भेनेजुएलाका राष्ट्रपति निकोलस माडुरोको नेतृत्व रहेको आरोप लगाइएको छ, जसलाई भेनेजुएलाले अस्वीकार गरेको छ।
अमेरिकी विदेश मन्त्री मार्को रुबियोले अब यी समूहहरूलाई केवल आपराधिक गिरोहका रूपमा नभई सशस्त्र आतङ्ककारी संगठनका रूपमा हेर्नुपर्ने र यसका लागि राष्ट्रिय सुरक्षा तहमा प्रतिक्रिया आवश्यक रहेको बताएका छन्।
यसबीच मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउमले अमेरिकाको सम्भावित सैन्य हस्तक्षेपबारे गम्भीर चिन्ता व्यक्त गरेकी छन्। उनले भनेकी छन्, "हामी सहकार्य गर्न तयार छौं, संवादमा प्रतिबद्ध छौं, तर हाम्रो भूमिभित्र विदेशी सैनिक उपस्थितिलाई कुनै हालतमा स्वीकार गरिन्न।" उनले लागूऔषध र आप्रवासन समस्या समाधानका लागि अमेरिकी प्रशासनसँग निरन्तर संवाद गरिरहेको पनि बताएकी छन्।