काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रशतसिंह भण्डारीले श्रमिक स्वस्थ भए मात्र प्रतिष्ठान र मुलुक स्वस्थ हुने बताएका छन्। उनले प्रत्येक श्रमिकको जिम्मेवारी सरकारको रहेको भन्दै यसमा सबैले गम्भीरतापूर्वक काम गर्नुपर्नेमा जोड दिए।
शुक्रबार सिंहदरबारमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट अभ्यास गर्ने प्रतिष्ठानहरूलाई सम्मान गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन्। उनले उत्कृष्ट अभ्यास गर्ने प्रतिष्ठानहरूलाई अरूका लागि पनि उदाहरण बनाउन सकिने धारणा राखे।
मन्त्री भण्डारीले आगामी दिनमा श्रम ऐन र विभिन्न ट्रेड युनियन ऐनहरूलाई संशोधन गर्ने प्रक्रियामा सरकार रहेको पनि जानकारी दिए। उनले श्रमिकको हितलाई मध्यनजर गरी सबैको हित हुनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।