काठमाडौँ। दुबई प्रहरीले दुई करोड ५० लाख अमेरिकी डलर (करिब ३ अर्ब ४८ करोड नेपाली रुपैयाँ) बराबरको बहुमूल्य गुलाबी हीरा चोरी गरेको केही घण्टाभित्रै तीन जना आरोपित व्यक्तिलाई पक्राउ गरेको छ।
संयुक्त अरब इमिरेट्स (युएई) को आधिकारिक समाचार संस्था डब्लूएएमले जारी गरेको विज्ञप्तिअनुसार, युरोपबाट गहना लिएर आएका एक हीरा व्यापारीलाई एक आपराधिक गिरोहले ठगी गरी हीरा चोरी गरेको थियो। गिरोहका सदस्यहरूले व्यापारीलाई एक धनाढ्य ग्राहकसँग भेट गराउने बहानामा एक भिल्लामा लगेका थिए। त्यहाँ नक्कली हीरा व्यापारीले हीरा हेर्ने बहानामा सो रत्न चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
दुबई प्रहरीले आफ्नो 'विशेष र फिल्ड टोली' को प्रयास र नवीनतम एआई प्रविधि को प्रयोग गरी घटनामा संलग्न तीनै जनालाई चोरी भएको आठ घण्टाभित्रै पक्राउ गरेको जनाएको छ। दुबई मिडिया अफिसले सार्वजनिक गरेको भिडियो फुटेजमा पक्राउ परेका तीनै जना अभियुक्तको अनुहार स्पष्ट देखाइएको छैन।
विश्व हीरा व्यापारको महत्त्वपूर्ण केन्द्र मानिने दुबई, आफ्नो कडा सुरक्षा प्रणालीका लागि प्रख्यात छ।