भारत र चीनले आफ्नो स्वार्थका लागि नेपाली भूमि खोस्न तयार भए : मन्त्री पौडेल
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ७ शनिबार
692
Shares
डोटी ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कालापानी लिपुलेकको विषयलाई नेपालले अन्तर्राष्ट्रियकरण गर्न नसकेका कारण प्राप्त गर्न नसकिरहेको बताएका छन्।
डोटीको दिपायलमा नेपाल प्रेस युनियन डोटी शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले यस्तो बताए।
उनले भने, “कालापानी लिपुलेक हाम्रो हो, प्रभावकारी कूटनीतिक पहल गर्न नसकेको र यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न नसकेका कारण हामीले यो भूमिलाई प्राप्त गर्न सकिरहेका छैनौँ। सबै प्रमाणका आधारमा यो भूगोल हामीले प्राप्त गर्नुपर्छ।”
मन्त्री पौडेलले छिमेकी राष्ट्र भारत र चीनले आफ्नो स्वार्थका लागि नेपाली भूमि खोस्न तयार भएको आरोप लगाए।
उनले नेपालले आफ्नो जमिन आफैँ फिर्ता ल्याउन सक्नुपर्ने बताए। मन्त्री पौडेलले भने, “हामीले हाम्रो जमिन आफैँ फिर्ता ल्याउन सक्नुपर्छ तर युद्ध गरेर होइन, प्रभावकारी कूटनीति अपनाएर जमिन फिर्ता ल्याउन सक्नुपर्छ। प्रभावकारी कूटनीति भनेको भारतसँग कूटनीतिक पहल बनाउनुपर्यो, अन्तरराष्ट्रिय जगत्मा पनि हामीले यो विषय लिएर जान सक्नुपर्यो।”
मन्त्री पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा यो विषय उठ्ने विश्वास व्यक्त गरे। यो विषयमा सबै राजनीतिक दलहरू एक ढिक्का हुनुपर्ने उनको भनाइ छ। रासस